एजेन्सी, ११ मंसिर । अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ ।
भारी वर्षा, तीव्र हावाहुरी, बाढी र हिमपातका कारण ९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् भने सडक तथा पुलहरू बन्द भएका छन् ।
मिसौरीदेखि म्यासाचुसेट्ससम्म फैलिएको आँधीले मध्य–एटलान्टिक तटीय क्षेत्रमा पानीको सतह ऐतिहासिक उचाइमा पुर्याएको छ । मिडवेस्टका केही क्षेत्रमा हिमपात भएको छ भने आँधी दक्षिणतर्फ सरेको छ ।
वाशिङटन डीसी, मेरिल्यान्डलगायतका क्षेत्रमा रूखहरू घर र गाडीमाथि खस्दा क्षति पुगेको छ । उद्धारकर्मीहरूले बाढीमा फसेका चालकहरूको उद्धार गर्नुका साथै केही बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ । न्यु जर्सीका सडकहरू जलमग्न हुँदा सवारीसाधन चलाउन कठिन भएको छ । न्युयोर्कमा तीव्र हावाले पैदल यात्रीहरूलाई समेत प्रभावित बनाएको छ ।
आँधीका कारण अमेरिकाको व्यस्त थ्याङ्क्सगिभिङ यात्राको समयमा हवाई सेवा पनि प्रभावित भएको छ । सयौँ उडान रद्द तथा ढिलाइ भएका छन् ।







