महोत्तरी, १० मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै भएको भारत भ्रमणलाई सामान्य र नियमित रूपमा बुझेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आफ्नो धारणा राख्दै संयोजक प्रचण्डले भ्रमणका क्रममा कुनै नयाँ र तात्त्विक उपलब्धि नभएको टिप्पणी गरेका हुन् । कतिपयले उक्त भ्रमणलाई ‘विशिष्ट’ र ‘ऐतिहासिक’ भनी चर्चा गरे पनि त्यस्तो नभएको उनको भनाइ छ ।
प्रचण्डले आफ्नो आधिकारिक भारत भ्रमणका बेला उठेका विषयहरूको स्तरमा समेत वर्तमान भ्रमण पुग्न नसकेको दाबी गरे । आफ्नो पालामा एयर रुट, विद्युत् व्यापार र सीमा सम्बन्धी विषयहरूमा ठोस पहल भएको स्मरण गर्दै उनले अहिलेको भ्रमणमा ती विषयहरू सैद्धान्तिक छलफलभन्दा अगाडि बढ्न नसकेको बताए ।
प्रचण्डले भने, ‘एकचोटी प्रधानमन्त्री जानुपर्थ्यो, जानुभयो। गएपछि केही कुरा हुन्थ्यो, भयो। तर, नयाँ र तात्त्विक कुरा भयो भन्ने लाग्दैन । कमसेकम सिमानाको बारेमा मैले र मोदीजीले सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेका थियौँ । अहिले त्यो स्तरमा पुगेन । भैरहवा एयर रुटको कुरा, नेपालगञ्ज र धनगढीका कुरा त्यतिबेलै चलेको हो । अहिले सैद्धान्तिक रूपमा भन्दा बढी भएको मैले तात्त्विक रूपमा देखेको छैन ।’







