उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

म्याग्दी, ११ मंसिर । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ ।

पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना डेढ दशकपछि सम्पन्न हुन लागेको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको यस आयोजनाको परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादन थालिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी रहेका छन् । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–सडक छेउमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युतगृह रहेको छ । आयोजनाको छ किलोमिटर २७० मिटर लामो सुरुङ निर्माण भएको छ ।

तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण र राहुघाटमा एकवटा बेलिब्रिज निर्माण भएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए । विद्युतगृह परिसरमा स्वीचयार्ड र कालीगण्डकी करीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड्न चारवटा टावर र प्रसारण लाइन निर्माण भएको छ ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो । भारतको वाकफोस राहुघाटको परामर्शदाता कम्पनी हो । भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा राहुघाट निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

म्याग्दी, ११ मंसिर । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट

रूपन्देही, ११ मंसिर । रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक

काठमाडौँ, १० मंसिर । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल