काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई सहयोग अभियान घोषणा गरेको छ । आइतबार बसेको बैठकले आमा–शिशु साथ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनासहित राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने नवनिर्वाचित सभापति सरोज केसीले बताए । अभियानअन्तर्गत आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र उनका नवजात शिशुलाई राहत तथा पोषण सहयोग उपलब्ध गराइने केसीले जानकारी दिए ।
बच्चा जन्मिएको ११ दिनभित्र सम्पर्क गर्ने लक्षित परिवारलाई २४ घण्टाभित्रै सहयोग पुर्याइने पार्टीले जनाएको छ । जसमा सुत्केरी आमाको पोषणका लागि स्थानीय लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि मौसमअनुसार २ देखि ३ थान नयाँ कपडा उपलब्ध गराउने निर्णय छ ।
त्यस्तै, आर्थिक रूपमा अत्यन्त विपन्न अन्य परिवारलाई पनि आवश्यकताका आधारमा यस्तो सहयोग गर्न सकिने कार्यविधि बनाइएको छ । सहयोगका लागि कुनै दल विशेष सीमा नभएको केसीले बताए ।







