एजेन्सी, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् ।
इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले मध्यावधि निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् यो जानकारी दिएका हुन् ।
‘अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि हामी कुनै पनि समयमा इरानमाथि आक्रमण गर्ने छैनौँ,’ ट्रम्पले लेखेका छन् । इरानमाथिको नाकाबन्दी भने पूर्णरूपमा कायम रहने र इरानले परमाणु हतियार प्राप्त गर्न नपाउने पनि उनले दोहोर्याएका छन् ।
राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट ठूलो परिमाणमा तेल ढुवानी भइरहेको उल्लेख समेत गरेका छन् । उनको दाबी अनुसार एकै रातमा २ करोड २० लाख ब्यारेल तेल उक्त मार्गबाट पार भएको छ । यसअघि अमेरिकाले इजरायलसँग मिलेर सन् २०२६ फेब्रुअरी २८ मा ‘अपरेसन फ्युरी’ अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो । आक्रमणबाट इरानका सर्वोच्च कमाण्डर आयोतुल्लाह अलि खामेनी लगायतका वरिष्ठ अधिकारीहरु मारिएका थिए ।
त्यसयता अमेरिका–इजरायल र इरानबीच तनावपूर्ण सम्बन्ध कायम छ । साथै इरान र ओमानको बीचमा पर्ने साँघुरो समुद्री मार्ग स्ट्रेट अफ होर्मुजबाट इन्धन ढुवानी पनि प्रभावित भएको छ । स्ट्रेट अफ होर्मुजले फारसको खाडीलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्छ ।







