काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ ।
भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको हो ।
भोजपुरका नौ वटै स्थानीय तहमा यही असोज ८ गतेदेखि आगामी कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुने भएको छ ।
खोप सहजकर्तालाई आवश्यक तालिम दिएर सबै पालिकामा खटाइएको छ । अभियान सुरु हुनु पूर्व ७६ जना खोपकर्तालाई एक दिने ‘खोप अभिलेखीकरण’सम्बन्धी सफ्टवेयर सञ्चालन तालिम प्रदान गरिएको थियो । यो अभियानका लागि ६१ हजार डोज खोप प्राप्त भएको छ । किसानकै गोठमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।
रोग नियन्त्रणसँगै उत्पादन वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको हो ।






