वागमतीका बहुमत एमाले सांसदद्वारा सरकार गठनको डेडलक तोड्न माग: थापालाई मुख्यमन्त्रीमा अगाडि बढाउन सुझाव

काठमाडौँ, २० साउन । वामगती प्रदेशको सरकार गठनको सिलसिलामा मुख्यमन्त्रीको सन्दर्भमा एमाले भित्रको छलफललाई विवादको संज्ञा दिदै पार्टीलाई बदनाम गराउन थालेपछि वागमती प्रदेशका एमाले प्रदेश सभा सदस्यहरुले संसदीय दलका नेता जगन्नाथ थपलियासँग असन्तोष व्यक्त गरेका छन् ।

सोमबार साँझ भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा पार्टीको केन्द्रीय पदाधिकारी एवं वागमती प्रदेशमा प्रतिनिधित्व गर्ने एमाले प्रदेश सभा सदस्यहरु बीच भएको छलफललाई तोडमोड गरि थपलियाले अफवाह फैलाएर पार्टीलाई बदनाम गराउने प्रयास गरेको भन्दै प्रदेश सभा सदस्यहरुले असन्तोष व्यक्त गरेका हुन् । बहुमत प्रदेश सभा सदस्यले जगन्नाथ थपलियालाई संसदीय दलको नेताबाटै हटाएर निर्वाचन गर्न समेत पार्टीसँग माग एक प्रदेश सभा सदस्यले बताए ।

ति सांसदले भने, “सरकार गठनका लागि हाम्रो पार्टीमा बहुमत छैन, नेकपाको समर्थनले मात्रै पनि पुग्दैन, तेश्रो दलको सहयोग नलिई सरकार गठन गर्न सकिदैन, यस्तो बेलामा पार्टीलाई कसरी नेतृत्वमा पुर्याउने भनेर सोच्ने जिम्मेवार व्यक्ति संसदीय दलका नेता नै हुन्, तर उनी आफै जसरी पनि मलाई नै मुख्यमन्त्री चाहिन्छ भनेर छलफलमा अडान लिएर बाहिर गलत प्रचारबाजी गरेर पार्टीलाई बदनाम गराउनु दुर्भाग्य हो ।”

संकटको बेलामा पार्टीलाई एक ढिक्का बनाएर लैजान भूमिका खेल्नु पर्ने व्यक्ति नै पार्टी अध्यक्ष केपी ओलीका कारण बेहोस भएँ भनेर अस्पताल भर्ना भएर नाटक देखाउनु आफैमा दुर्भाग्य भएको ती प्रदेश सभा सदस्यले बताए । बैठकमा सहभागि अर्का सदस्यका अनुसार सोमबारको बैठक अगाडि नै पार्टी अध्यक्ष केपी ओलीले जगन्नाथलाई मुख्यमन्त्री बन्नलाई पार्टी भित्र बहुमत सदस्यको समर्थन लिन र तेश्रो दलसंग सहमतिका लागि पहल गर्न समय दिदाँ असफल भएको बताए ।

ती सदस्यले भने “पार्टी अध्यक्षले तपाई नै मुख्यमन्त्री बन्नुहोस्, पार्टीलाई मिलाएर लैजानुहोस्, पार्टी भित्र सबै सांसदलाई मनाउनुहोस्, पार्टी बाहिर र तेश्रो दलको समर्थन चाहिन्छ, त्यो समर्थन तपाईको नेतृत्वमा जुटाउँनुहोस् भनेर भन्दा चार दिनसम्म न त पार्टीभित्रका प्रदेश सभा सदस्यहरुसंग बसेर छलफल नै गर्नुभयो, नत तेश्रो दलको समर्थनका लागि कुनै पहल गर्नुभयो, त्यस्तो व्यक्ति अस्पतालको बेडमा सुतेर मुख्यमन्त्री माग्ने, यो त गैरजिम्मेवारीपन मात्रै होईन, पार्टीभित्रको बदमासी र बदनामी पनि हो, उहाँले संसदीय दलको नेताको रुपमा आफूलाई प्रस्तुत गर्ने हैसियत गुमाईसक्नु भयो ।”

प्रदेशका बहुमत सदस्यहरुले वागमती प्रदेशलाई डेडलक बनाएर राख्न नहुने बताउँदै पार्टी अध्यक्ष ओलीलाई सुझाब दिएका छन् । जसले पार्टी भित्र बहुमत जुटाउन सक्छ र जसले तेश्रो पार्टीलाई सरकार गठनका लागि सहमति जुटाउन सक्छ, त्यसैलाई मुख्यमन्त्री बनाएर जानु पर्ने सुझाब बहुमत प्रदेश सभा सदस्यले दिएको बताए । संसदीय दलमा जगन्नाथको विपक्षमा दुई तिहाइभन्दा बढी प्रदेश सभा सदस्य रहेको भन्दै अर्को दलबाट एउटा सिटसमेत जुटाउन सक्ने हैसियत नभएको बताए ।

सरकार गठनको डेडलक अन्त्य गर्न अन्य सहयात्री दलसँग संवाद गरेर जानुपर्ने गरि पार्टी अध्यक्षले अगाडि बढ्नु पर्ने एमाले प्रदेशका सांसदहरुको सुझाव आएपछि थपलियाले बैठकमै पार्टी नै छाड्ने, सांसद पद त्याग्ने तथा केन्द्रीय सदस्यसमेत परित्याग गर्ने धम्की दिनु पार्टीकै लागि दुर्भाग्य भएको बताए ।

राजनीति जिम्मेवारी, संयम र संवादबाट अघि बढ्ने प्रक्रिया हो, आवेग र धम्कीबाट होइन भन्दै ती प्रदेश सभा सदस्यले पार्टी अध्यक्षका कारण बैठकमै ढलेको हल्ला फैलाउने, बेहोस भएको प्रचार गर्ने, अस्पताल भर्नाको नाटक गर्ने, गुटबन्दीको केन्द्र बनाउने, राजनीतिक मर्यादा भुलेर भद्दा प्रदर्शन र महत्वाकांक्षा पूरा गर्ने हतियारका रूपमा प्रयोग गर्ने, पार्टी अनुशासन तोड्ने, गुटगत गतिविधि बढाउने र अन्ततः आफ्नै पार्टीको बदनाम गर्ने प्रवृत्ति गलत भएको ती सांसदले बताए ।

एमालेका अर्का प्रदेश सभा सदस्यले भने “पद भन्दा माथि पार्टी हुन्छ र व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि पार्टी अनुशासन हुन्छ, यो सत्यलाई समयमै आत्मसात गर्न नसक्दा क्षति झन् गम्भीर हुँदै जान्छ, नाइ मलाई त्यही केटी चाहिन्छ भनेर गीतमा भने जस्तै संसदीय पद्धति र लोकतान्त्रिक प्रक्रिया नमान्नु मुर्खता हो, त्यसैले पार्टीले अब बहमुतको निर्णयलाई मानेर सरकार गठनलाई अगाडि बढाउन पार्टी नेतृत्वसँग माग गरेको हो ।”

प्रदेशमा तीन दलको साथले मात्रै सरकार गठन हुने अबस्था रहेको र पार्टीको जो नेतालाई नेतृत्व सुम्पिदा सरकार गठन सहज हुन्छ, त्यसैलाई अगाडि सारेर पार्टी नेतृत्व र पदाधिकारी अगाडि बढ्नु पर्ने बहुमत प्रदेश सभा सदस्यले दबाब बढाएको ती सदस्यले बताए ।

वागमती प्रदेश सभामा एमालेका २५ प्रदेशसभा सदस्यमध्ये १९ जनाले पूर्व स्वास्थ्य मन्त्री किरण थापा मगरलाई संसदीय दलको नेता तथा मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै हस्ताक्षर गरिसकेका छन् । संसदीय दलका वर्तमान नेता जगन्नाथ थपलियाको सट्टा थापालाई नेतृत्व दिनुपर्ने पक्षमा प्रदेश सभा सदस्यहरूको स्पष्ट दिएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । बजारमा च्याउको मूल्यमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको पछिल्लो

काठमाडौँ, २० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले

काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौँ, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ