काठमाडौँ, २१ असोज । जेन–जी प्रदर्शनका नाममा भएको घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा सरकारलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा उक्त धारणा राखेका हुन् ।
अर्थमन्त्रीसँग भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिले सकारात्मक परिवर्तनका लागि युवाहरूले गरेको आन्दोलनमा भएको घुसपैठले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएकामा गुनासो गरे ।
पछिल्लो घटनाक्रमबाट उद्यमी व्यवसायी निरुत्साहित बनेको र यस्ता घुसपैठ, लुटपाट एवं आगजनीमा संलग्नमाथि कारबाही नभए निजी क्षेत्र थप हतोत्साहित हुने हुँदा तत्काल कानुनी कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ ।






