जुम्ला, १० जेठ । जुम्लाको दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा भएका छन् ।
जिल्लाका आठ वटा स्थानीय तहमध्ये कनकासुन्दरी र पातारासी गाउँपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका आठवटै वडाका १५ महिना मुनिका २०३ बालबालिकाहरूले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिनाभित्रका ५८८ बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।
चालु आर्थिक वर्षमा हालसम्म सबैले पूर्णखोप पाएको र आगामी दिनमा दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै कनकासुन्दरीलाई पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जङ्गलाल बुढाले जानकारी दिए ।
पातारासीका पाँच वर्ष मुनिका ५२७ बालबालिका छन् । जसमा ०–१५ महिनासम्म २१९ र १६ देखि ५९ महिनासम्मका जम्मा ३०८ बालबालिकाले पूरा खोप पाइसकेको गाउँपालिकाले जनाएको छ । खोप निर्देशिकाअनुसार आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर सोमैले बताए ।







