काठमाडौँ, ९ जेठ । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको हो ।
बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो । तर, अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको थियो ।
यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् । यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ ।





