काठमाडौँ, २४ बैशाख । गायक÷शब्द सङ्कलकको पहिचान बनाउनुभएका गोरखा सैनिक मास्टर मित्रसेन, थापाको जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई” सार्वजनिक भएको छ ।
साङ्ग्रीला प्रकाशनगृहद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवा, लेखक÷समिक्षक प्रकाश सायमी, सर्जक प्रा. डा. गोविन्द राज भट्टराईलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । वातावरण सरंक्षण अभियन्ता, लेखक विजय हितानले गायकको रूपमा प्रख्यात मित्रसेनको गोरखा लाहुरे भएर पहिलो विश्वयुद्धमा सहभागिता जनाउनुभएको लुकेको पाटोलाई पनि यस कृतिमार्फत उजागर गर्नुभएको छ ।
युद्ध साहित्य लेख्नुहुने प्रा.डा. भट्टराईले यस उपन्यास युद्ध साहित्य अध्यापनका लागि उपयुक्त पहिलो कृति सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गोरखा सैनिक तथा शान्तिसेनामा सहभागी भएर थुप्रै नेपाली सैनिकले पनि परिवार, देशभन्दा टाढा थुप्रै देशको सिमाना नाघ्दै युद्धको त्रास, जित÷हारको मनोदशा र शान्तिको अनुभूति गर्ने अवसर प्राप्त गर्नुभएको छ । ति अमूल्य अनुभवलाई स्वदेश फर्केर साहित्यमा परिणत गरे मित्रसेन जस्तै कृतिमार्फत युगौं बाँच्ने प्रेरणा पनि यस कृति दिएको बताउनुभयो ।
प्रा.डा.भट्टराईले यस पुस्तकमा उल्लेख गरिएको गोरखा लाहुरेले प्रयोग गर्ने करिब एक हजारवटा शब्द प्रयोग भएका छन, सामान्य पाठकका लागि ति शब्दको अर्थसहित आगामी अङ्कमा पुस्तकको पछाडिपट्टि छाप्नुपर्ने सुझाव दिनुभयो । हितानले आफ्नो सैनिक जीवन सँगसँगै बहुमुखी प्रतिभाका धनी पात्र मित्रसेनको डायरी, उहाँका गीत, सङ्गीत, नाटकलगायतका साहित्यिक गतिविधीको अध्ययनसहित आख्यानका रूपमा ल्याएको कृति निक्कै राम्रो बनेको भन्दै प्रसंसा गर्नुभयो ।
लेखक प्रकाश सायमीले जसरी गायिका नुर जहाँलाई भारत र पाकिस्तानमा गीत÷सङ्गीतको क्षेत्रमा विशेष सत्कार गरिन्छ, भने मास्टर मित्रसेन पनि नेपाल र भारत दुबै देशले उत्तिकै सम्मान पाउने र नेपालका विभिन्न भू–भागको वर्णनसहितको गीतले नेपालका भू–भागलाई नै चर्चामा ल्याउन सफल गायकको जीवनको अर्को पार्टोलाई उपन्यासको रूपमा प्रकाशित गरी नयाँ पुस्ताका लागि मास्टर मित्रसेनलाई बुझ्ने मौका प्राप्त भएको बताउनुभयो । सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवाले सर्जक हितानले लेख्नुभएको यस कृति पढ्दा गोरखा लाहुरेकोे हरेक परिवारले आफ्नै अनुभवको रूपमा लिन सक्ने वातावरण तयार गर्न सफल रहेको बताउनुभयो ।
उहाँले यस्ता कृतिहरूमा घरमुली लाहुरे हुँदा वा घरवाहिर कमाउन बस्दा महिलाले निर्वाह गरेको सङ्घर्षपूण यथार्थलाई पनि विशेष स्थान दिएर बयान गर्न कन्जुसी गर्न नुहुने बताउनुभयो । पूर्व गोरखा सैनिक समेत रहनुभएका हितानको यस उपन्याससहित १२ वटा साहित्यिक कृति सार्वजनिक भइसकेको छ । लेखक हितानले साङ्ग्रीला प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई उपन्यासका लागि करिब छ वर्षसम्म मास्टर मित्रसेनको जीवनीका बारेमा अध्ययन गरेर लेखेको बताउनुभयो ।