प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

चितवन, ९ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनसत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुंगो लागिसकेको छैन । अन्य राजनीतिक दलका नेता समेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेता समेत आउँदै छन् । एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मंसिर १० गते देखि १२ गतेसम्म हुँदै छ ।

महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाख नेता–कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।