पोखरा, २५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार सञ्चालनको लागि माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि जस्तोसुकै परिस्थिती आए पनि सामना गरेर अगाडी बढ्ने बताउनुभएको छ ।
प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाए पछि मुख्यमन्त्री गुरुङले सबै परिस्थितिको सामना गर्न आफु तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव जुनसुकै बेला आउन सक्छ भनेर म जानकार नै छु । राजनीति हो, सबै परिस्थितिको सामना गर्छु ।’
राजीनामा पत्र बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका मन्त्री चुमानले संघीयताको अभ्यास सरकार संचालनमा मात्र नभई पार्टी संचालनमा पनि राम्रो नभएको बताउनुभयो । राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनि आफ्नो धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमा यहींको संसदीय दलले सरकारमा रहने कि नरहने भनेर निर्णय गर्न पाउनुपर्ने हो, तर माथिबाट लादियो । हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौं । हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् ।’
जवाफमा मुख्यमन्त्री गुरूङले प्रदेश सरकारमा रहँदा राम्रो सहकार्य भएको भन्दै माओवादी पार्टीबाट मन्त्री बनेका चुमान र थापा दुबै जनाले राम्रो काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले राम्रो काम गर्नुभएको थियो । बरु एमालेकै मन्त्रीसँग बेलाबखत रिसाउनुपरेको थियो, तपाइहरुसँग त्यस्तो कहिल्यै भएन ।’
गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै रहनुभएको । माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन । प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन् । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ ।