नेपालको राष्ट्रिय धान दिवस र रसिया गीत

आनन्दकला राई

एकहात दही एकहात चिउरा गुलियो कसार
पूर्वको ढोका उघारी हेर्दा लागेछ असार ।
छुपु मा छुपु रोपा है रोप्नु असारे मासैमा
गीत गाउनु भन्छु बोली फुटेन के अड्क्यो सासैमा ।
छुपुमा छुपु रोपा है रोप्नु हातैको मर्मले
झ्यालैमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले ।
छुपुमा छुपु रोपा है रोप्नु हातमा बिउ छइन्जेल
हाँसखैलै गरी रमाइलो गरौँ जीउ ज्यान भइन्जेल ।
बाउसे दाइको त्यो ढाका टोपी खसेछ हिलैमा
हाँसखेलै गरी रमाइलो गर्दा बसेछौ दिलैमा ।

यो असार महिनाको असारे रोपाईँमा गाइने गीतको टुक्का हो । यस गीतलाई नेपालको पूर्व भेगतिर रसिया भनिन्छ भने पश्चिमतिर काँठे भाका भनिन्छ । तर आजभोलि असारे खेतीमा यसरी रसिया गीत गाउन छाडिएको छ । नेपाल कृषिमा बाँचेको देश हो । त्यसैले पनि नेपालीका लागि यो असार महिना ज्यादै महत्व राख्ने महिना हो । हाम्रा पुर्खाहरू “पढीगुनी के काम हलो जोती माम ।” त्यसै भनेका होइनन् रहेछ । संसारभरि नै सञ्चालनमा रहेका उद्योग, कारखाना, यातायात, भौतिक पूर्वाधारको निर्माण जुनसुकै क्षेत्रको व्यापार व्यवसाय कृषिमा निर्भर हुन्छ । त्यसमा पनि विकासोन्मुख हाम्रो देश नेपालको अर्थतन्त्रको मेरुदन्ड कृषि नै हो । खेती किसानीबाटै यहाँको मान्छेको जीवन चलेको हुन्छ । यहीँ कुरा बुझाउने दिन हो असार १५ तथा “राष्ट्रिय धान दिवस” । विभिन्न विषय र सन्दर्भमा विश्वमा थुपै्र दिवस तथा विशेष दिनहरू हुने गर्दछन् । ती दिवसहरू आआफ्नै चलनअनुसार विभिन्न कार्यक्रम बनाएर भव्यताका साथ मनाउने चलन हुन्छ । तिनै विशेष दिवस तथा दिनहरूमध्ये नेपालमा असार १५ गतेका दिन मनाइने “राष्ट्रिय धान दिवस” पनि एक विशेष दिन हो । यो असार महिना किसानका लागि साहै्र चटारो हुन्छ । खेती लगाउने समय असार साउनको महिना र अन्न बाली कटनी मरणीको समय कार्तिक मङ्सिर महिना किसानलाई भ्याइनभ्याइ हुन्छ । उनीहरूलाई खाना खानेसम्म फुर्सद हुँदैन । घाम, पानी, झरी, वर्षा केही नभनी उनीहरू आफ्नो खेतबारीमा व्यस्त हुन्छन्, परिश्रम गर्छन्, अन्न फलाउँछन्, आफू बाँच्छन् अनि अरुलाई बचाउँछन् । हो तिनै परिश्रमी, मेहनेती किसानहरूको सम्मानका लागि हो नेपालको राष्ट्रिय धान दिवस ।

पहिले पहिले गाउँघरमा अलि हुनेखानेहरू (अन्न अरुभन्दा अलि बढी घरमा भित्र्याउने) ले आफ्नो रोपाईँ मैझारोको दिन बेठी लगाउने चलन थियो । पञ्चैबाजा बजाउने मान्छेहरू रोपाइँ गर्ने गह्रा गह्रामा हिलो टेक्दै आफ्नो बाजा बजाउने गर्दथे । रोपाहारहरू त्यो बाजाको तालमा रसिया गाएर आफ्नो सुख दुख साटासाट गर्दथे । रोपाहारहरूको बीचमा एकआपसमा रसियामै दोहोरी पनि हुन्थ्यो । रोपाहारबाहेक बैग्लै महिलाहरू रसिया गाउनका लागि मात्रै पनि बोलाइन्थे । यसरी आफ्नो खेतको रोपाईँको मैझारोको दिन छरछिमेकी, आफन्त र सम्पूर्ण खेतालाहरूको बीचमा रमाइलो गरिन्थ्यो, खुसी साटेर कामप्रति हौसला प्रदान गर्ने काम गरिन्थ्यो । वैज्ञानिक दृष्टिकोणले भन्ने हो भने सम्पूर्ण प्राणी जगत र जमिन वा माटोसँगको सम्बन्धलाई उजागर गर्न खोजिएको हो । प्राणी जगत र बिरुवाको बीचको सम्बन्धलाई बुझाउन खोजिएको हो । कृषि मानव जीवनको मेरुदन्ड हो भन्ने कुरा सबैलाई स्पष्ट पार्न खोजिएको हो । खेती किसानी गर्नु भनेको वनस्पतिको सेवा गर्नु हो । वनस्पति र प्राणीको सम्बन्ध अन्योन्यश्रित हुन्छ भन्ने बुझाउन कोसिस गरिएको हो । तर अहिले गाउँमा त्यसरी रोपाइँ गरेको पाइँदैन । त्यो बेला गाउँमा तल्लाघरे साइला बाजेको आज बेठी छ भनेर निम्तो गरी गाउँभरिका मान्छे एकै ठाउँ भेला भएर मैझारो गर्ने चलन थियो । गाउँका प्रत्येक घरबाट एकएक जना उपस्थित भएर रमाइलो गर्थे, खुसी साटासाट गर्थे । आफ्नो मेलो छाडेर पनि घरको एकजना व्यक्ति त्यहाँ अनिवार्य उपस्थित हुन्थे ।

गाउँमा खेती गर्दा देखिएको अर्को रमाइलो पक्ष अर्मपर्म हो । पहिलेका मान्छेहरू धेरै सहयोगी थिए । गाउँमा खेती किसान गर्न कठिन हुने मान्छेलाई जो कोहीले सहयोग गर्ने चलन थियो । सबै जम्मा भएर पालो गरी गरी खेतमा रोपाइँ गर्ने चलन थियो । रोपाइँ गर्नु भनेको पनि एउटा टिमवर्क (सामुहिक कार्य) हो । हलो जोत्ने वा खन्ने, हिलो मिलाउने, बिउ काढ्ने, आली लगाउने, माटो सम्याउने र धान रोप्ने यी सबै एकैचाटि गर्नुपर्ने काम हो त्यसैले एकजनाले मात्र गर्न सम्भव छैन । खेतमा धान रोपाइँले मान्छेमा सहयोगी भावनाको विकास गर्छ । सामाजिकीकरणमा यसले मद्दत गर्दछ । त्यसैले एकदिन एउटाको रोपाइँ गर्ने, अर्को दिन अर्कैको रोपाइँ क्रमशः गर्ने चलन थियो । यो गाउँको राम्रो पक्ष हो । ‘रसिया’ शब्द नयाँ भएजस्तै ‘अर्मपर्म’ भन्ने शब्द पनि अब सबैका लागि नयाँ हुने सम्भावना छ । यी सबै कुरा स्मरण गराएर बुझाउनका लागि हो राष्ट्रिय धान दिवस ।

नेपालको वर्तमान अवस्थामा खेतीकिसानभन्दा पनि वैदेशिक रोजगारमा सबैको आकर्षण छ । गाउँका प्रत्येक घरका युवाहरू काम गर्न विदेश गएका छन् । धेरै कमाउने देशमा भए उनीहरूको परिवार राजधानी काठमाडौँमा बस्छन् । अलि थोरै कमाइ हुने देशमा हो भने छोरा छोरी पढाउने बहनामा उनीहरूको परिवार जिल्लाको सदरमुकाम बस्ने गर्दछन् । गाउँका धेरैजसो घरहरूमा बृद्घबृद्घा मात्र बसेका हुन्छन् । त्यसैले नेपालमा अहिले खेतीकिसान कम गरिन थालिएको छ । खेतहरू धेरै बाँझिएका छन् । खेतीयोग्य धेरै जमिनहरू जङ्गल भएका छन् । यसरी कृषिप्रधान हाम्रो देश नेपाल दिनदिनै अन्नमा पनि पराधिन बन्दै गएको छ । किनभने सहरमा मात्र होइन, गाउँमा पनि खाने कुरा अहिले बाहिरबाटै आउँछ । युवाहरू सबै विदेश बनाउन जान्छन् आफ्नो गाउँ खोक्रो हुँदै गएको छ । यही कुराको न्यूनीकरण गनेर्, किसानहरूको आत्मबल बढाउने, उनीहरूले गरेका कामको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गतेलाई “राष्ट्रिय धान दिवस” को रूपमा मनाउने परुम्परा बसाएको छ । प्रत्येक वर्ष विभिन्न नारा तयार गरी मनाइन्छ । गत वर्ष २०७६ सालको नारा “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयतमा न्यूनीकरण” भन्ने तयार गरिएको थियो । यो दिन कृषिसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी धान दिवस मनाउँछन् । तर यो कार्यक्रममै सिमित भएको छ । किसानका समस्या ज्युँका त्यँु छन् । किनभने छिमेकी मुलुक भारत र चीनदेखि चामल, तरकारी र फलफूल नल्याए सहरियाको चुलोमा आगो बल्दैन । सहरमा मात्र होइन गाउँमा पनि अहिले आफ्नो बारीको लसुन, अदुवा, खुर्सानी, बेसार जस्ता दैनिक उपभोग्य खाने कुराहरू खान पाउन मुस्किलै पर्छ । असार १५ को दिन धान रोपेर दही चिउरा खाने चलन पनि छ । त्यसैले यो दिनलाई दही चिउरा खाने दिनको रूपमा पनि लिइन्छ । यसरी सरकारले यो दिनलाई विशेष महत्वको दिनको रूपमा घोषणा गरेपनि कृषकलाई आवश्यक चेतनामूलक कार्यक्रम छैन । लाखौँ युवा विदेशमा छन् खेती गर्ने खेताला छैन, खेती गर्ने आधुनिक प्रविधि छैन । नहर, कुलो, आधुनिक मल बिउका कुरा त्यस्तै छन् ।

असार १५ “राष्ट्रिय धान दिवस” को फोटो र स्टाटसहरूले सधैँजस्तै यो वर्ष पनि सामाजिक सञ्जाल पक्कै भरिने छ तर खेतसम्म पुगेर माटाको महत्व बुझ्ने, बिरुवा र प्राणीको सम्बन्ध बुझ्ने, माटालाई माया गर्ने मान्छेको भने कमी नै देखिन्छ । हामीले विद्यालयमा व्यावहारिक तथा व्यावसायिक विषयको कुरा गरिरहँदा, प्रयोगात्मक अभ्यासको कुरा गरिहँदा सहरका धेरैजसो विद्यार्थीहरू यस्तो ज्ञानबाट आज पनि टाढै छन् भने गाउँघरका विद्यार्थीहरूमा पनि खेतीकिसानप्रति, कामप्रति आस्था राख्ने भाव जगाउन सकिएको छैन । गाउँमा युवाहरू छैनन्, भएकाहरू पनि मकैभट्मासले होइन चाउचाउले भोक मेट्ने, मूलबाट बगेको पानीले होइन कोकले प्यास मेट्ने खालका हुन्छन् । बाहिरबाट आएको रेमिट्यान्सले हातहातमा स्मार्ट फोन, शरीरमा ब्रान्डेड कपडा, खुट्टामा जुत्ता उस्तै हुन्छ । अनि किन खनजोत गर्ने खेतबारी ? किन पस्ने हिलोमा ? किन भिज्ने वर्षा झरीमा ? किन उव्जाउने धान र कोदो ? अनि कसरी पाइन्छ त खेत खन्ने खेताला ? हामी कता जादै छौँ ? देश कता जादै छ ? प्रश्न गम्भीर छ । यो प्रश्नको जवाफको खोजी यो वर्ष २०७७ को “राष्ट्रिय धान दिवस” ले गर्नु पर्दछ ।

देशको शिक्षानीति, अर्थनीति तथा कार्यक्रमहरूले कृषिलाई सम्बोधन गर्न नसक्दाको कारण पनि असार महिना तथा “राष्ट्रिय धान दिवस” उपलब्धिमूलक हुन सकेको छैन । “आफ्नो गाउँ आफै बनाऔँ” कार्यक्रम अन्तर्गत थुपै्र बजेट गाउँ गाउँमा जान्छ तर लगानी प्रथामिकताको छनोट हुन नसक्दा ती बजेट सही शीर्षकमा खर्च नभएको देखिन्छ । खेती किसान गर्ने किसानलाई आवश्यक पर्ने नहर, कुलो, आधुनिक प्रविधि, मल, बिउ अनि कृषि चेतनाको जरुरी छ । त्यो नहँुदा किसानहरू परम्परागत खेती गर्न बाध्य भएका छन् । मनसुनले साथ नदिए खेती लगाउन पनि सक्दैनन् । उनीहरू आकासे खेतीमा भर पर्नु पर्ने बाध्यता हुन्छ । त्यसपछि उत्पादनभन्दा लगानी बढी भएपछि किसानहरू मुख्य पेशा कृषिप्रति आकर्षित हुन सक्दैनन् । तराई र उपत्यकाका किसानको समस्या आफ्नै सिसिमका छन् । त्यहाँका मलिलो जग्गा थोरै मान्छेको कब्जामा हुन्छ । जो काम गर्छ उसको जग्गा हुँदैन । भएको जग्गा प्लटिङ गरेर बस्ती बसाउने होड चलेको छ । सहर व्यवस्थापनमा दूरदर्सिता नहुँदा तरकारी उत्पादन गर्ने जग्गा त्यहाँका किसानले पाउँदैनन् ।

कोरोनाले मान्छेलाई पक्कै धेरै ज्ञान दिएको छ । सधैँ अरुको भर पर्ने विकाशोन्मुख देशहरूलाई त झन धेरै शिक्षा मिलेको छ । गाडीको सुबिधा भए पनि बेफुर्सदीको अवस्था देखाई कहिल्यै गाउँ फर्केर आफ्नो खेतबारी नटेक्ने व्यक्तिहरू अहिले धेरै गााउँ फर्केका छन् । उद्योगी, व्यापारी, कर्मचारी, शिक्षक र मजदुर सबैले हाम्रो बाँच्ने आधार सहर होइन गाउँ नै रहेछ भन्ने बुझ्ने अवसर पाएका छन् । उद्योग व्यापारभन्दा खेतीकिसानी नै मुख्य रहेछ भन्ने बुझेका छन् । गाउँ फर्किएका युवाहरू बाँझो रहेको आफ्नो जमिनमा सामुहिक खेती गरिरहेका छन् । यसैलाई आधार बनाएर कृषिमा आवश्यक नीति निर्माण तयार गर्ने मात्र नभएर कार्यान्वयनमा पनि ध्यान दिन सके मात्र फेरि पनि ती गाउँका खेत पाखाहरूमा पञ्चै बाजाका साथमा रसिया गीत घन्कने छन् । खाने अन्नका साथै तरकारी र फलफूलमा आत्मनिर्भर हुने दिन आउने छ । अनि मात्र विभिन्न नाराका साथ मनाइने “राष्ट्रिय धान दिवस” को सार्थकता झल्किने छ ।

फोटो साभार: सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल