बैंककमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। 

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा शव निकालिएको छ भने अन्य घाइतेहरूलाई अस्पताल लगिएको छ।

आइतबार मध्यरातपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा ग्राहकहरू आगोको चपेटामा परेको मुख्य ढोकाबाट भागिरहेका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको लप्का निस्किएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ। 

भागदौडका क्रममा केही मानिस लडेका छन् भने कम्तीमा दुई जनाको शरीरमा आगो सल्किएको स्पष्ट देखिन्छ। अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म ठुलो क्षति भइसकेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउने २७ जनामा नौ पुरुष र १८ महिला छन्।

अस्पतालमा ६० भन्दा बढी व्यक्तिको उपचार भइरहेको छ भने केही मानिस अझै बेपत्ता रहेको थाइ सञ्चारमाध्यम थाइराथले जनाएको छ। आगो लाग्ने बित्तिकै भवनको पछाडि भागेर शौचालयमा लुक्न खोज्दा धेरैको निसास्सिएर मृत्यु भएको प्रधानमन्त्रीले बताए। 

आगो लाग्दा प्रस्तुति दिइरहेका एक सङ्गीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्रीले भने, ‘कट-आउट स्विचमा आगो सल्किएपछि घटना निकै तीव्र गतिमा अघि बढ्यो। विस्फोट भयो र सबैजना धुवाँ तथा आगोबाट बच्न भाग्न थाले।’ धेरैजसो शव शौचालयभित्रै फेला परेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३