अर्गानिक खेतीको लागि सर्वोत्तम मल: भर्मीकम्पोष्ट

गोपीकृष्ण न्यौपाने

 के हो भर्मीकम्पोष्ट मल ?

साधारणतया कम्पोष्ट मल भन्नाले खेतीपाति, वनजंगल तथा पशुपालनबाट निस्किएका छ्वाली, मकैको ढोड, पराल, झारपात, पातपतिंगर, गोबर आदिलाई एक ठाउंमा थुपारी कुहाएर बनाएको मल भन्ने बुझिन्छ । यो मल राम्ररी कुहिन र यसमा भएको खाद्य तत्त्व बोट बिरुवा तथा बालिनालीलाई प्राप्त हुन धेरै समय अर्थात ४ देखि ६ महिनासम्म लाग्दछ । यसरी बनाएको साधारण कम्पोष्ट मलमा छिटो कुहाउने सुक्ष्म जिबाणुहरु जस्तो ट्राइकोडरमा (Trichoderma), एजोटोब्याक्टर (Azotobacter) आदि राखेर पनि गुणस्तरको कम्पोष्ट मल बनाउन सकिन्छ तर यसमा प्रयोग गरिने यी जीवाणुहरु हावा बिना सक्रिय नहुने भएकोले बेलाबेलामा मललाई पल्टाइ राख्नुपर्ने हुन्छ । तर कृषकहरुले साधारणतया कमै मात्र पल्टाइएको पाइएको छ जसले मल बनाउन राखिएका झारपात, पातपतिंगर आदि तलतिर धेरै गल्छ र माथिपट्टी पटक्कै गल्दैन जसले गर्दा गुणस्तरयुक्त कम्पोष्ट मल तयार हुंदैन । त्यसैले गुणस्तरीय कम्पोष्ट मल बनाउन संसारभरी नै नयां प्रबिधिमा गड्यौला

(Vermin) को प्रयोग गरिएको हुन्छ । यसरी गड्यौला प्रयोग गरी तयार गरिएको कम्पोष्ट मललाई “गड्यौली मल” वा “गड्यौली कम्पोष्टमल” तथा “भर्मीकम्पोष्ट” भनिन्छ ।

 भर्मीकम्पोष्ट मल

किन प्रयोग गर्ने भर्मीकम्पोष्ट मल ?

गड्यौली कम्पोष्टमा प्रशस्त मात्रामा गड्यौलाको बिष्टा (Casting) पनि भएकोले यो मलको गुणस्तर अन्य तरिकाबाट बनाइएको कम्पोष्ट मलको भन्दा निकै नै राम्रो हुन्छ । यो गड्यौलाको बिष्टा (Casting) मा पनि घुलनशिल खाद्यतत्त्व तथा एमोनियाको रुपमा नाइट्रोजन तत्त्व हुने भएकोले यसको प्रयोगबाट बोट बिरुवा चांडै फष्टाउंछ । गड्यौली मलको प्रयोग बाली अनुसार प्रति हेक्टर १-१० टनको दरले नार्कले सिफारिस गरेको छ ।

– यो मल सबै बालीको लागि प्रयोग गर्न सकिन्छ ।
– साधारण तरिकाले बनाएको कम्पोष्ट मलभन्दा यो मल थोरै प्रयोग गरे पनि पुग्छ ।
– यो मल कालो रङको गन्ध नआउने र बुर्बुराउदो हुन्छ ।
– यो मलमा उपयोगी जिवाणुहरुको संख्या बढी पाइएको छ । तसर्थ यो मल प्रयोग गरियो भने माटोको रसायनिक तथा भौतिक गुणहरु राम्रो हुन गै माटोको उर्वरा शक्तिमा बृद्वि हुन्छ ।
– मुख्य खाद्य तत्त्वहरु बढी पाइन्छ । सुक्ष्म तत्त्वहरुस् भिटामिन, हर्मोन, एण्टिबायोटिक र इन्जाइम आदि बोटबिरुवा तथा बालिनालीलाई उपलब्ध हुन्छ ।
– यो मल प्रयोग गर्दा माटोमा हानिकारक किराहरुको संख्या कम गर्नुका साथै रोग ल्याउने जीवाणु को संख्या पनि कम हुन्छ ।
– यो मलमा गड्यौलाको अण्डा (Cocoons) पनि हुने भएकोले माटोमा गड्यौला बृद्विको कृयाकलाप तथा संख्या बढाउंछ ।
– यो मल प्रशोधित हुने भएकोले बिषालु तथा अनावश्यक बिउहरु पाइदैन ।
– यो मलमा पानी अड्याउने शक्ति बढी हुन्छ तसर्थ यो मलको प्रयोग गर्दा भूक्षय कम हुन्छ ।
– खेति र घरेलु फोहरबस्तुहरुबाट यो मल बनाइने हुंदा वातावरण लाई स्वच्छ राख्न मद्वत पुग्दछ ।
– गड्यौलालाई राम्ररी पखाली सुकाएर माछाको दानामा मिसाएर ख्वाउन सकिन्छ ।
– गड्यौला बढी उत्पादन भएमा हांस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ ।

 भर्मीकम्पोष्ट मल उत्पादन

किन रसायनिक मल प्रयोग नगर्ने ?

– रासायनिक मलको प्रयागले पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वनस्पतिक चक्रमा निम्नानुसारको प्रतिकूल असर पारेको कुरा कृषि अनुसन्धानकर्ताहरुले पत्ता लगाएस् रासायनिक मलको प्रयोगले माटोको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्ने काम गर्छ ।
– जैविक तत्त्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ ।
– रासायनिक खेतीले बालीबिरुवाका मित्रलाई पनि असर पुर्याएको हुन्छ ।
– शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्न गई तिनलाई नियन्त्रण गर्ने क्र्रममा कडा विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको पाइन्छ ।
– रासायनिक मलको प्रयागले कयान्सर, उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिएको पनि पाइन्छ ।
– यसरी रासायनिक मलको खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न गर्नु यसका बेफाइदाहरु भएकोले प्रयोग गर्नु राम्रो मानिदैन ।

 भर्मिकम्पोष्ट मलबाट उत्पादन

के भर्मी कम्पोष्ट मलको उत्पादन पर्याप्त हुनसक्छ नेपालमा ?

यो मलको लागि मूख्य कच्चापदार्थ भनेकै गाई बस्तु र भैंसीको गोबर हो । गोबर संकलन गरेपछि सो मा सड्ने किसिमका सबै फोहोरमैला प्रयोग गर्न सकिन्छ । अहिले ब्यवसायिक पशुपालन गर्ने प्रचलन पनि बढिरहेको छ भने परम्परागत पशुपालन पनि भैरहेको छ । तर कृषि कार्यमा भने बिस्तारै गोबर मलको भन्दा पनि माटो बिगार्ने युरिया र डिएपी मलको प्रयोग गर्न थालेको अबस्था छ । त्यसैले आधुनिक हिसाबले प्रशोधित प्राङ्गारिक मलको पर्याप्त उत्पादन हुने हो भने माटो बिगार्ने रसायनिक मल बिस्तारै बिस्थापन हुनसक्छ । पशुपालन ब्यवसायलाई स्वरोजगार बनाउने कडीको रुपमा बिकास गर्ने हो भने नेपालमा भर्मी कम्पोष्ट मलको उत्पादन पर्याप्त हुनसक्छ । फोहरमैलाको उचित ब्यबस्थापन गर्नको लागि पनि यस किसिमको मल उत्पादन गर्न प्रोत्साहित गर्नुपर्छ ।

किन प्राङ्गारिक मलले प्राथमिकता पाउंदैन ?

बिगत वर्षहरुको कुरा छोडौं, यस बर्षकै बजेटमा पनि अर्थमन्त्रीज्यूले रसायनिक मलमा रु. ११ अर्ब अनुदानको लागि बजेट बिनियोजन गर्नुभएको छ । प्राङ्गारिक मललाई प्रोत्साहन गर्ने भनिएको भएता पनि बजेट बिनियोजन गरिएको छैन, भएपनि त्यसमध्ये सानो रकम छुट्याएको हुनसक्छ । अहिले सरकारले रसायनिक मललाई ७५ प्रतिशत अनुदान दिएको छ भने प्राङ्गारिक मललाई प्रति के. जी. १०/- मात्रै अर्थात ३०% जति । अहिले पनि नेपालमा ७ वटा जति भर्मी कम्पोष्ट मल उत्पादन गर्ने र अरु केही अन्य बिधिबाट प्राङ्गारिक मल उत्पादन गर्ने उद्योगहरु खुलेका छन । ती उद्योगका उत्पादनहरु खरिद नगरी रसायनिक मल प्रति रुची हुनु विडम्बना नै मान्नुपर्दछ । वर्तमान कृषि मन्त्रीज्यूले पनि यो जालो तोड्न सक्नुभएन । सातै प्रदेशमा कम्तीमा दुइवटा प्राङ्गारिक मल उद्योग स्थापना गरी अर्गानिक खेतिलाई प्रोत्साहन गर्नुपर्ने थियो । तर कृषि मन्त्रालयमा रहेको कर्मचारीतन्त्रले यस्तो निर्णय गर्नै दिदैन । गड्यौलाको मल बनाउन अत्यन्त चीसो अर्थात ६० देखि ७० प्रतिशत चीसो हुनुपर्छ र मल तयारी हुंदा चीसो (Moisture) को मात्रा अधिकतम ५० प्रतिशत चिसो सम्म रहनसक्छ । यही चिसोपनाले बोटबिरुवा वा बालीनालीमा मलको तत्त्व सर्ने/सार्ने हो । यो मलको प्रकृति नै हातले समाउंदा हातमा नटासिने हुन्छ । तर कर्मचारीले मन्त्रीज्यूलाई ब्रीफिङ्ग गर्दा पानी बेच्छन भनेर लगाईदिन्छन र ४० प्रतिशतभन्दा बढी चीसो राख्नुहुन्न भनेर सुझाउछन, जबकी नार्क आफैले अनुसन्धान गरेर यो मलको चिसोपन ५० देखि ६० प्रतिशत हुनसक्छ भनेर गड्यौली मल पुस्तिका नै प्रकाशित गरेको छ, स्वयं कृषि फार्महरुको अनुसन्धानले पनि यस किसिमको मलबाट अर्गानिक उत्पादन बढ्ने देखाएको छ । यसरी गलत ब्याख्या हुनु र जुन जो जताको भएपनि मुख मिल्नुको कारण चै गर्भमै छ ।

स्वरोजागार बढाउंछरोजगारी पनि शृजना गर्छ

प्रदेश प्रदेशमा कारखाना खोलिने भएकोले स्वरोजगार उद्यमीहरु बढ्छन, रोजगारीको संख्या पनि बढ्छ । स्थानीय स्तरमा ब्यवसायिक पशुपालन बढ्छ, डेरी उद्योगहरु खुल्छन, पशुपालनसंगै बाख्रापालन बढ्छ जसले गर्दा मासु तथा मासुजन्य पदार्थको आयात कम हुन्छ । बिदेशमा यस्तै काम गरेर फर्केका बेरोजगार ब्यक्तिहरुलाई बैक तथा बित्तीय संस्थाको सहयोगमा स्वरोजगार बनाउन सकिन्छ । करीब १७/१८ अर्ब रुपैयां बिदेसिनबाट जोगिन्छ, ब्यापार घाटा कम गर्न मद्वत पुग्छ । स्थानीय ढुवानी ब्यवसाय समेत प्रवर्द्वित हुन्छ ।

निश्कर्ष

अहिले भारत र नेपाल दुबै देशमा लकडाउन कायम रहेकोले भारतबाट रसायनिक मल आउन समय लाग्ने देखिदैछ । यो बेला आफ्नो देशमा आफैले उत्पादन गरेको उच्च गुणस्तरको भर्मीकम्पोष्ट मल स्टकमा भएको तत्कालै खरिद गरी बितरण गर्ने र अरु थप उत्पादनको लागि प्रोत्साहित गर्न जरुरी छ । अर्को बर्ष देखि रसायनिक मल आयात नगरी प्राङ्गारिक मलको उत्पादन बढाउने तर्फ प्रदेश सरकारले बजेट केन्द्रीत हुनुपर्ने देखिन्छ ।

(लेखक : व्यवसायिक शिक्षा तथा प्रविधि प्रतिष्ठान, पालुङटार, गोरखाका सल्लाहकार हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।