म भित्रको ‘म’लाई चिनाएको मायाँ

-वर्षा शर्मा-

“मामु कता होइसिन्छ, के गर्दै होइसिन्छ ?’’ बाहिरबाट नानुको आवाज आयो, मेरै कोठातिर आउँदै रहिछ, म भने अफिसको काममा व्यस्त थिए । केहि अँध्यारो मलिन अनुहार लिएर मेरो काखैमा गुटुमुटु परेर रुन पो थाली नानु । “के भयो नानु ?’’ भन न मैले बारम्बार सोध्दा पनि नबोलि मोतिका गेडाजस्ता सेता आँसु खसालिरहि । नानुलाई सानैदेखि साथि जस्तै गरेर हुर्काएकि हुँ मैले । जस्तोसुकै कुरा पनि निर्धक्क भन्न सक्ने वातावरण दिएकि छु तर केहि महिनादेखि काममै व्यस्त भएर उसको कुरा सुन्न नपाउँदा अनि उसको पिडामा साथ दिन नपाउँदा ज्यादै नरमाईलो लाग्यो। एकछिनमा नानुले रुन्चे आवाजमा भनि “मामु मैले एउटा कुरा हजुरलाई लुकाएको थिएँ । मलाई गालि नगरिस्यो है “मैले कहिले गालि गरेको छु र नानु तँलाई, भन न के भयो ?’’ “मामु, मेरो साथि छ नि अभि, ऊ र म छ महिना अगाडिदेखि प्रेम सम्बन्धमा बसेका थियौं मैले हजुरलाई धेरै पटक भन्ने कोसिस गरें तर सकिन पछि समय आएपछि भनौंला भन्ने सोंचेर भनिन तर आज उसले मलाई धोका दियो मामु, म भन्दा राम्री पायो रे “नानुको यस्तो कुरा सुनेर मेरो मनभित्रको आशाको पहाड खसेर पहिरो गएझैं भयो, मनमनै सोचेँ अस्ति भर्खरै जन्मिएकी मेरी बचेरी कहिले पखेंटा हालेर उडेर पनि भुइँमा लडिसकिछ थाहा पाउनै सकेकि रहिनछु। त्यसपछि मैले उसलाई सम्झाएँ “नानु तँ भर्खर उन्नाइस वर्षकि भइस, अहिले तेरो प्रेम गर्ने उमेर होइन, पढ्ने अनि भविष्य बनाउने उमेर हो ।’’ यति भनेर मैले आमा हुनुको कर्तव्य त निभाएँ तर उसले चाहेको जस्तो साथिले दिने जसरी साथ र सल्लाह नदिएको भएर उसलाई झन रिस उठेछ क्यारे जर्किन थालि “हजुरलाई के थाहा छ र मामु साँचो मायाँ भनेको कस्तो हुन्छ, हजुरले कहिल्यै गरेको भएपो थाहा हुनु नि, बाआमाले खोजेको केटासंग विहे गर्स्यो कहाँबाट थाहा पाईस्यो होला र’’ “मैले पनि गरेकि थिएँ नानु कसैलाई साँचो अनि चोखो मायाँ “एक्कासी मेरो मुखबाट यस्तो शब्द आयो कि म कोसँग के बोल्दैछु एकछिन बिर्सिएँ फेरी अर्को मनले भन्यो जे हुन्छ राम्रोकै लागि हुन्छ । त्यसपछि नानुको कोसंग, कहिले, कसरी सबै प्रश्नहरुको उत्तर दिन तयार भएँ र आफ्नो विगतको कथा सुनाउन तयार भएँ जसबाट नानुले पनि धेरै कुराहरु सिक्न सक्लि भन्ने करामा ढुक्क भएँ ।

बाह्रसम्म घर नजिकैको विद्यालयमा पढेकि म, व्याचलर पढ्न भने काठमाडौँ जान तम्सिएँ । पढाईमा मेहेनति भएकाले मेरो उज्ज्वल भविष्यको लागि भएपनि मुटु माथि ढुंगा राखेर आफुभन्दा टाढा पढ्न पठाउन तयार हुनुभयो आमाबा । साथिहरुको लहैलहैमा लागेर व्याचलर इन फेसन डिजाइनिङ गर्ने अनि होस्टलमा बस्ने निर्णय भएअनुसार म अनि मेरा अरु तिनजना साथिहरु होस्टल भर्ना भयौं । लाजिम्पाटमा रहेको नेपाल इन्स्च्युट अफ फेसन भन्ने कलेजमा भर्ना भयौं । काठमाडौँ सहर, मेरो सपनाको सहर, जताततै मान्छे, गाडी अनि घरहरुमात्र देखिन्थे । गाउँमा असारे पन्ध्रमा खेतिपातीको चटारो भएझैं सधैं चटारो त्यहाँका मानिसहरुलाई, कसैलाई कसैको मतलव नहुने । मपनि विस्तारै त्यहाँको पहिरन, आनिबानि, चालचलन तथा व्यवहारमा घुलमिल हुँदै थिएँ । बिस्तारै कलेजका अनि होस्टलका साथीहरु बनाएँ । जोसँग पनि नजिकिएर बोल्ने बानि भएकाले होला छोटो समयमा पनि धेरै साथिहरु बनाउन सफल भएँ । कहिले कलेज छोडेर फ्लिम हेर्न जाने त कहिले होस्टलबाट राति राति भागेर क्लव, डान्स वार तिर जान शुरु गरें । त्यतिबेला भर्खर भर्खर फेसबुक चलाउने चलन आएको थियो । रातीको समय धेरैजसो फेसबुकमैं बित्न थाल्यो मेरो । फेसबुकमा चिनेको होस या नचिनेको साथि बनाईहाल्थें अझ केटा मान्छेलाई त साथीहरु मिलेर जिस्काएर बसिन्थ्यो । पढाईतिर भने अलिकति पनि ध्यान जान छोडिसकेको थियो । फेसबुके साथी कसैले एक्लै भेट्न बोलाए पनि पुग्दिन्थें म, कसैको मतलव लाग्दैनथ्यो । यत्तिकै रमाइला दिनहरु बितिरहेका थिए अचानक पहिलो वर्षको अन्तिम परिक्षाको तालिका आयो । कलेजले लिने परिक्षाको भने मतलव नै गरिन्थेन तर अन्तिम परिक्षाको भने केहि डर लागिरहेको थियो । पढम भने के पढम केहि पनि आउँदैन । परिक्षा यत्तिकै हावाको तालमा दिएँ भाग्यले पास गराउला भन्ने आशामा । त्यसपछि फेरी दिनचर्या पहिलेको जसरी नै बिताउन थालें ।

एकदिन सधैंझैं वेलुका फेसबुक चलाउँदै बसेकि थिएँ, एकजना केटाको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ ‘आ भास’मैले केही नहेरी साथी बनिहालें र एकछिनमै उताबाट लामो म्यासेज आईहाल्यो “तपाई फेसन डिजाइनिङ पढ्दै हुनुहुन्छ रे होईन, एकजना साथिमार्फत थाहा पाएँ, कस्तो हुन्छ मेरो बहिनीलाई पनि पढाउने सोंच बनाकोछु “यो पढेर म अचम्म परें, धेरै फरक लाग्यो मान्छे, अरुले शुरुमा म्यासेज गर्दा हेलो, के छ, घर कता ?, त्यसपछि ब्वाइफ्रेन्ड छ भन्ने कुरा मात्र सुनेकि म उसको यस्तो व्यापारिक डिल गरेको जस्तो म्यासेजले मेरो मन कता कता खलबलियो र उसको प्रोफाइल हेर्न मन लायो । फोटोग्राफर रहेछ केटो, अनि उसको प्रोफाइल पिक्चरमा भएको रोनाल्डोको फोटो अनि फुटबलसँग सम्बन्धित पोस्टहरुले ऊ फुटबलमा निकै रुचि भाको मान्छे हो भन्ने कुरा प्रमाणित गरायो । उसको फोटो हेर्नलाई भने निकै खोतल्न पर्ने रहेछ, धेरै बेरपछि एउटा फोटो देखियो त्यो पनि निकै पुरानो जस्तो थियो । यति गर्दा पनि साँच्चि कस्तो रहेछ त यो केटा थाहा पाउनै सकिन । आफ्नो फोटै नहाल्ने मान्छे पनि हुँदा रहेछन् यस्तो देखेर पनि अचम्म लाईरह्यो अनि म्यासेज लेखें “राम्रो छ, मेहेनत धेरै गर्नुपर्छ ।’’ मैले पनि सामान्य भाषामा उसको प्रश्नको उत्तर मात्र दिएर पन्छिन खोजें । आफुलाई आफुले पढेको विषय कस्तो छ के छ त्यति पनि थाहा नभएको भएर नरमाईलो लाग्यो । उसको फेरी म्यासेज आयो “भोलि शनिबारको दिन एकछिन समय दिनोस् न प्लिज, बहिनिले धेरै कुरा बुझ्न खोजेकि छ तपाइबाट “यति धेरै सम्मान आजसम्म मलाई कसैले गरेको थिएन त्यहिपनि सल्लाह लिनको लागि, मैले अस्वीकार गर्न सकिन र भोलिपल्ट विहान होस्टल नजिकैको कफि सपमा भेट्ने निधो गरियो ।

भोलिपल्ट विहान किन हो किन मेरो मनमा उत्सुकता बढिरहेको थियो । उसको बहिनीलाई सल्लाह दिनु भन्दा नि उसलाई एकचोटी हेर्न मन लाईरहेको थियो । मनले कस्तो होला त्यो मान्छे जस्को फेसबुकमा एउटा फोटो नि छैन अनि उहि पेसाले फोटो ग्राफर, मनमनै हाँसो पनि लाईरहेको थियो । एकछिनमा उसको बहिनीको फोन आयो उसले फोन नम्बर पनि आफ्नो नदिएर बहिनीको दिएको कस्तो खालको केटा होला । म उसले भनेको ठाउँमा पुगें एउटा टेवलमा खैरो रङको टिसर्ट कालो पाईन्ट, हातमा हेल्मेट लिएर बसेको केटालाई देखें मेले उसलाई माथिदेखि तलसम्म एकोहोरो हेरिरहें । उसको अगाडी पट्टिको कुर्सीमा बहिनीलाई देखेपछि त्यहि मान्छे हो भन्ने ठुक्क भएँ र नजिकै पगें । दुवैजना आफ्नो ठाउँबाट उठेर मलाई नमस्कार गरे । मलाई कस्तो कस्तो अप्ठेरो महशुस भयो त्यहिपनि नमस्कार फर्काएँ र कुर्सीमा बसें । मेरो स्कुलको साथी रबिना उनिहरुको आफन्त पर्ने र उसैले भनेको भएर कुरा गर्न आएको उसले बतायो । उसले आफ्नो अनि बहिनीको बारेमा सबै कुरा भन्यो, मैले पनि बहिनीलाई सकारात्मक रुपले फेसन डिजाइनिङ म पढेकै कलेजमा पढ्न सल्लाह दिएँ । केहि समयको कुराकानीपछि कफि पिएर हामी छुट्टियौं । शनिबारको दिन भएकाले म दिनभरि मोवाइलमैं झुन्डिएर बसें । उसको प्रोफाइल फेरी खोलेर हेर्न मन लायो । उसले खिचेका फोटाहरुले मेरो मन निकै आनन्दित बनायो । मलाई फोटो खिच्न धेरै मन लाग्ने भएकाले उ संग मित्रता गरें भने राम्रो राम्रो फोटो खिच्दिन्छ अनि वाईक पनि छ, उसको साथी भएपछि घुम्न पनि जान पाईयो वाईकमा भन्ने सोचेर उसंग मित्रता गर्ने सोंच बनाएँ । मैले उसको बहिनीको कलेज भर्ना गर्नमा सहयोग गर्ने बाहानामा उसंग राम्रो साथी बन्न सफल भएँ । त्यसपछि हाम्रो सधैं कुराकानी हुन थाल्यो र मित्रता बढ्दै गयो ।

एकदिन मेरो पहिलो वर्षको रिजल्ट आएको खवर पाएर मैले रिजल्ट हेर्न थालें । सबै विषयमा फेल देखाएपछि मेरो मुटुले ठाउँ छोड्यो । मनमा बल्ल लाग्यो कि जिन्दगीमा कहिल्यै फेल नभएकि म आज फेल भएँ भनेर बा–आमालाई भन्दा कस्तो हुन्छ होला उहाँहरुलाई । म पागल जस्तै भएँ । सबै साथीहरु फेल भएका रहेछन् होस्टलका रुवाबासी नै चल्यो एकछिन । त्यसपछि मैले आभासलाई फोन गरेर सबै कुरा भनें । त्यसपछि उसले गल्ती मान्छेबाट त हुने हो । Fail (first attempt in Lear) हो त्यसैले तिमी धेरै नआत्तिए अर्को साल फेरी राम्रो गर्न सक्छौ हिम्मत गर । संसारका जतिपनि सफल मान्छेहरु छन्, उनिहरु एकैचोटी सफल भएका हुन् र धैर्य गर मेहेनत गरेर पढ आजैबाट सफल भईन्छ भनेर मेरो हिम्मत बनेर मलाई हौसला दियो उसले । आत्महत्या गर्छु भन्ने सोंच आईसकेको मैले उसको कुरा सुनेर अब हिम्मत नहार्ने बाचा गरें । भोलि मलाई लङ ड्राइभमा लैजाने बताएर विदा भयो । भोलिपल्ट विहान मलाई लिन भनि होस्टल अगाडि आयो । दिनभरीको समय उसंग विताउन पाउँदा निकै रमाएकि थिएँ म, मेरो ओठमा मुस्कान ल्याउन सफल भएर उ पनि खुसी थियो । वेलुका कोठामा पुगेर फेरि म्यासेज गर्यो “निकै रमाइलो भयो है आजको दिन’’ साथमा दुइटा आँखामा मायाँ भएको इमोजि सहित !

मलाई पनि रमाइलो लाएको कुरासंगै निकैबेर कुरा भयो । आज उसको बोल्ने तरिका अल्ली बेग्लै थियो अरुदिन भन्दा । कुराको बिच बिचमा चुप्पा गरेको इमोजि आइरहेको थियो मैले त्यसलाई खासै वास्ता गरेकि थिइन । आज चैं उसले लभ यु भन्न पनि भ्यायो तर मैले चाहिँ राम्रो साथीले गर्ने मायाँ भन्ने बुझेर केहि प्रतिक्रिया दिइन । मुस्कानको इमोजि मात्र पठाइरहें । एउटा केटी मान्छेलाई यति धेरै मायाँ गर्ने यति धेरै ख्याल राख्ने केटाकै त खाँचो हुन्छ । जुन मैले पाइरहेकि छु, भन्ने सोचेर उसको मायाँ जिन्दगी भरी पाउने आशले मेरो मनमा डेरा जमाउन थाले । त्यसपछि कुन दिनदेखि कसरी मायाँ बस्यो थाहा नै भएन । आफ्नो भएपछि झन् धेरै ख्याल राख्न थाल्यो । कतिखेर के काम गर्ने, कतिबेर पढ्ने सबै उसको समय तालिका अनुसार चल्न थालें म । परिक्षाको बेलामा पनि कति पढिस्, के के पढिस्, सबै कुरा ध्यान दिन थाल्यो । कसैले तँ भनेर बोल्यो भने रिस उठ्ने मलाई उसले भनेको तँ शब्दमा पनि मायाँ मिसिएको जस्तो लाग्न थाल्यो । फेसबुकमा नचिनेका सबै मान्छेहरुलाई हटाइदियो । उसको समय र नियम अनुसार चलेको भएर नै होला कलेजको सबैभन्दा धेरै नम्बर ल्याउन सफल भएँ । मेरो जीवनमा आभासको आगमनसँगै जिवनले नयाँ मोड लिएको आभास भयो मलाई । मेरो लागि भगवान भएर आएको जस्तो लाग्यो ।

एकदिन कुन्नि किन पो हो मेरो मनमा विहेको कुरा आउन थाले र सोंच्न थालें आभाससंगै विहे भयो भने त कति रमाईलो हुन्थ्यो होला है जिन्दगी अनि त्यहि कुरा उसलाई भने । म घरमा कुरा गर्छु नि त साने अनि मान्नु भयो भने तेरो पढाई सकेपछि बिहे गरौंला । यो शब्द मेरो मनमा यसरी गड्यो कि अहिले भर्खरै बेहुली बनेर उसकै भैसकें । नभन्दै दशैंमा घर गाको बेलामा उसले घरमा कुरा राखेछ । “केटी कुन जातकि हो ?’’ उसको परिवारको पहिलो प्रश्न वाहुन हो तर जैसी भनेपछि हुँदैहुन्न भन्ने कुरो आएछ । यस्तो कुरा सुनेर मलाई भक्कानो छोडेर रुन मात्र मन लायो । रुन पर्दैन साने म अहिले तँलाई छोडेर जान लाको हो र, अझै राम्रोसंग पढ अनि पछि फेरी कुरा गरौंला मानिहाल्नु हुन्छ नि अनि मान्दै मान्नु भएन भने भागेर कतै टाढा जाउँला । उसको यस्तो कुराले मेरो मन त अल्लि शान्त भयो तर उसको परिवारले जैसी र उपाध्याय भनेर गरेको भेदभाव भने पटक्कै मन परेन । उसले फेरी भन्यो साने हाम्रो बिहे भएपनि नभए पनि मेरो दुईवटा इच्छा छ पुरा गर्दे है, एउटा तैंले यस्तै गरी राम्रोसंग पढेर सक अनि अर्को तँ एउटा फेमस फेसन डिजाइनर बनेको हेर्न मन छ । उसको यो दुईओटा इच्छालाई मनमा लिएर उसको लागि भएपनि मेहेनत गर्न छोडिन । अनि सफल पनि भएँ । व्याचलर सकेपछि एकपटक उसको आमालाई भेट्न मन लाएको कुरा उसलाई भनें र भेटेर कुरा पनि गरें तर उहाँको मन पग्लिएन । ठूलो जातको हुनुको अहमता मनमा रहिनै रह्यो । हुन सक्ने जति सबै कोसिस कतै छोडेनौं हाम्ले । कसैगरी नभएपछि भागेर इन्डिया जाने विचार उसले गर्यो तर मेरो मनले मानेन । जसको परिवारलाई यति मरिहत्ते गरेर भन्दा पनि मानेको छैन भागेर पनि !

र उनीहरुको त्यो जातियताको भेदभाव कहिल्यै हट्ने छैन भन्ने सोचेर भागेर जाने कुरामा सहमति जनाउन सकिन । सक्नु हुन्छ भने मलाई माग्न परिवार सहित आउनु नत्र हामि छुटिएकै राम्रो भनेर जवाफ दिएँ । सहि हो या गलत त्यतिबेलाको निर्णय बुझ्नै सकिन । भन्न त मुखले भनें तर मनले यति धेरै मायाँ गर्ने मान्छेसंग टाढा हुनुपर्दाको पिडाले मनमा घोचिरहेको थियो । मैले उसको दइटै इच्छा पुरा गरें तर उसंग जिन्दगी बिताउने मेरो इच्छा चाहिँ भगवानले पुरा गर्दिन सकेनन् । आफुले आफुलाई सम्हाल्दै उसले भन्यो “एकचोटी भेटेर तिम्लाई अँगालेर मन बुझ्ने गरी रुन मन छ साने ।’’ केटा मान्छे मन भित्र रोएपनि बाहिर मुस्कान नै देखिन्छ भन्थे तर होईन रहेछ मलाई भेटेपछि उसको आँखाबाट आँसु रोकिनै सकेनन् मपनि उसलाई अँगालेर धोको पुग्ने गरी रोएँ । जिन्दगीको अन्तिम रुवाई हो नि है साने यो आजबाट जिन्दगीले अर्कै मोड लिएको छ त्यहि हो हाम्रो असलि जिन्दगी भनेर भोलिदेखि रुन नपाइने बाचा गरेर र रातभरी नै रोएर बितायौं । मेरो घरमा बिहेको कुरा चलेको रहेछ, केटो अस्टेलियन पि.आर भएको । मन पराएको कोहि छ भने भन भनेर आमाले धेरै पटक सोध्नुभयो तर कसरी छ भन्न सक्थे र मैले छैन भन्दिएँ । बिहे हुने पक्कापक्की जस्तै भयो उसलाई भनें उसले पनि हुन्छ गर भन्यो अनि भएको हो तेरो बाबासंग बिहे नानु ।। मेरो कथा ध्यान दिएर सुनिरहेकि थिई नानु अनि आँखाभरि आँसु भरियो दुबै आमाछोरीको । आज धेरै पछि मेरो आँखामा आँसु आएको थियो उसलाई कहिल्यै रुदिन हजुरलाई सम्झेर भनेकि थिएँ आज नानुले रुवाई । आखिर यहि त रहेछ मायाँ नजिक हुँदा भन्दा टाढा हुँदा धेरै लाग्ने, टाढा हुनैपरेर त रहेछ नि । मेरो मेरो मायाँले मभित्रको ‘म’ लाई चिनायो तर आफुले चिन्न सकेन ।

धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन,

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस