काठमाडौँ, २५ माघ । सरकारले आजदेखि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम सुरु गरेको छ ।
हात्तीपाइले रोग नियन्त्रणका लागी स्वास्थ्य मन्त्रालयमातहतको इपिनिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका विभिन्न १३ जिल्लामा आजदेखि यो कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमअन्तर्गत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने महाशाखाले जनाएको छ । त्यस्तै, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पनि आजैबाट यो कार्यक्रम सुरु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ । चिकित्सकहरूले खाली पेटमा औषधि नखान र औषधि सेवनपछि टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्नेजस्ता समस्या आउँदा नआत्तिन पनि सुझाएको छ ।
कस्तो ब्यक्तिले औषधि सेवन गर्न हुँदैन ?
१. दुई वर्ष उमेर नपुगेका बालबालिका
२. गर्भवती महिला
३. सात दिनसम्मका सुत्केरी महिला
४. सिकिस्त प्रकृतिका बिरामीले उक्त औषधि सेवन गर्न हुँदैन ।






