चीन नभइदिएको भए भारतले नेपाललाई खाइसक्थे : पासाङ तेम्बा लामा

पासाङ तेम्बा लामा आज भन्दा ५८ वर्ष अगाडि हेलम्बुमा जन्मनु भएका वरिष्ठ समाजसेवी व्यक्तित्व हुनुहुन्छ । जन्मेको ९ महिनामा आफ्नो जन्मदिने आमाबाट टाढा हुनु परेपछि कान्छी आमा र बुवाको हेलाहोचाका कारण आफ्नो शारिरीक अशक्तताका बाबजुद १६ वर्षको उमेरमा भारतको हिमाञ्चल प्रदेशमा स्याऊ बेच्ने कुल्ली काम गर्न पुग्नुभयो । वहाँ पछि स्वदेश फर्कनु भै २५ वर्षको उमेरमा लामा भन्ते बन्नुभयो । १२ वर्षसम्म बौद्धका एक गुरुको नोकरी जीवनमा रहँदा लामा भन्ते बन्ने प्रेरणा प्राप्त गरी आफ्ना दुई भाइ र कान्छी आमा पट्टिका दुई भाईलाई हेलम्बुमै छाडेर बौद्धमा बस्दै आउनु भएका वहाँ लामा भन्तेसँग एभरेष्ट मिसनले गरेको कुराकानीको सार—संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

२५६३ औं बुद्ध जयन्ती हालै सम्पन्न भएको छ । नेवाः समुदायले आफ्नै किसिमले बुद्ध जयन्ती मनाए । लामा भन्तेहरु कसरी बुद्धजयन्ती मनाउने गर्दछन् ? उपत्यका र हिमालतिर मनाउने बुद्धजयन्तीमा के फरक छ ?

— फरक छैन, फरक छैन । सबै बुद्धिष्टहरु एक हुन् । भन्नलाई महायानले मासु खान्छ । उनीहरु कसरी बुद्धिष्ट हुन सक्दछ भन्छन् । तर त्यसो होइन । नेपालमा जतिपनि बुद्धिष्टहरु छन् । वास्तवमा ती सबै एक हुन् । ठाउँ अनुसार अलि अलि मनाउने तरिकामा फरक पर्नु स्वाभाविकै हो । घरको माथि पुग्न ढोकाबाट छिरेर भ¥र्याङ उक्लनु परेजस्तै हो । बाटो एउटै हो । ब्याख्या र बयान मात्रै फरक फरक परेको हो । शील, समाधि र प्रज्ञाको माध्यमाट मोक्ष प्राप्त गर्ने कुरा कहिं कतै फरक छैन । यहाँ मात्रै होइन कि सम्पूर्ण विश्व ब्रम्हाण्ड मै यो कुरा एकै तरिकाले लागु भइरहेको हुन्छ ।

दलाई लामाले बुद्ध जयन्तीलाई मान्ने तरिका अर्कै होला । उपत्यका भित्र बस्ने नेवाः समुदायले बुद्ध धर्म मान्ने तरिका अर्कै होला । त्यो ठाउँ र व्यक्ति हेरी फरक भएको मात्रै हो । मूल कुरामा कुनै भिन्नता छैन । सबै बुद्धिष्टहरु एक हुन् । बुद्ध जयन्ती बैशाख वा जेठ महिनामा पर्दछ । यो वर्ष बैशाख ४ गते सनिवार नेपालमा बिदा भएको दिन परेको थियो । यसलाई अन्तर्राष्ट्रिय स्तरमा नै राष्ट्र संघीय निकाय युनेस्कोले विश्वभर कुटनीतिक नियोगमा बिदा दिएर मनाउने परम्परा सुरु गरेका छन् । यो नेपालमा अझ राम्रो रुपमा मनाउने गरेका कारण यसलाई राज्यको तर्फबाट नै विशेष खाले कार्यक्रम अगाडि सारेर धुमधामले मनाउनु जरुरी छ । दशमीको दिन देखि नै एक हप्तासम्मको लागि विभिन्न विहार, गुम्बा र ध्यान केन्द्रमा एक हप्तासम्म बुद्ध जयन्तीका कार्यक्रम हुने गरेको छ । उपत्यकामा भगवानको मूर्ति रथमा राखी नगर परिक्रमा गराउने चलन छ भने हिमाली क्षेत्रमा भने बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटकलाई हातमा लिएर गाउँ ठाउँ घुम्ने गर्दछन् ।

हिमाली भेगमा मनाइने बुद्ध धर्म र पहाडी भागमा मनाउने बुद्ध धर्म भित्र के कस्तो फरक पाइन्छ ? हिमयान र महायानमा फरक के छ ?

— बुद्ध धर्म राष्ट्रिय स्तरमा एउटै हिसावले बनाइनु पर्दछ । मानिसहरुको काम अनुसार मनाउने तरिका फरक पर्दछ । के गर्यो भने राम्रो हुन्छ, त्यही गर्नु आवश्यक छ । धर्म सबै एउटै हो । त्यो चाहे हिन्दू, बौद्ध, क्रिश्चियन, मुश्लिम वा अन्य धर्म मान्ने समुदाय नै किन नहोस् । सबै मान्छे बुद्ध हुन सक्दछ । त्यसैले बुद्ध धर्म सबैले मान्न सक्दछ । प्राणी मात्रको हीत गर्ने यो धर्म सबै प्राणीले मनाउन सक्दछन् अर्थात् अरु प्राणीहरुले पनि बुद्ध धर्म मान्न सक्दछन् । शाक्यमुनि बुद्ध मानव भएकै नाताले बुद्ध बन्न सफल भयो । जन्मले भन्दा पनि कर्मले नै बुद्ध बन्ने हो । त्यसैले बुद्ध धर्म र धारणा फरक छैन । एउटै धारणा र मर्यादा राख्ने काम बौद्धहरुमा पाइन्छ । फरक के गर्दा समाजलाई जोगाउन सकिन्छ भन्ने सोच हो ।

कुनै बखत एउटा कछुवाले समेत ५०० जना मान्छे मर्ने कुरालाई तारि दियो रे । फोहर धेरै भएर कुहेका कारण उक्त स्थानमा लाखौं लाखको संख्यामा झिंगा उत्पत्ति भयो रे । त्यो झिंगा सबै कछुवाले त्यतिकै आफ्नो शरिरमा राखेर हलचल नगरिकन बसी आफ्नो शरिर सुहाएर धेरैको ज्यान जोगाए भनिन्छ । नमोबुद्धमा पनि बाघको बच्चाहरुलाई जोगाउन आफ्नो शरीरको मासुको चोक्ता निकाल्दै ख्वाउने राजकुमारको मूर्ति पाइन्छ । यो हिसावले बुद्धत्व प्राप्त गर्न मानिस नै हुनुपर्दछ भन्नै छैन । अरु प्राणीले पनि परोपकारी भावना राख्यो भने बुद्धत्व प्राप्त गर्न सक्दछ ।

देश धर्मनिरपेक्ष भइसकेको छ । धर्म निरपेक्षता प्रति यहाँको धारणा ?

— म हिन्दू अधिराज्य भन्ने नारामा असहमती छु । देश भनेको धर्म निरपेक्ष नै हुनु पर्दछ । राज्यको कुनै धर्म हुनु हुन्न । व्यक्ति हिन्दू, बौद्ध, क्रिश्चियन वा मुश्लिम जो पनि हुन सक्दछ । जनजातिको कुरा ग¥यो भने त्यसमा सबै प्राकृतिक धर्म मनाउनेहरु मात्रै छन् । उनीहरु हाल देखिएका यी हिन्दू, क्रिश्चियन भन्दै विभिन्न खालको धर्ममा विभिक्त पनि छैनन् । प्रकृति पुजक आदिवासीहरुलाई यो अथवा त्यो लोभले विभिन्न धर्ममा विभक्त गरेको पछि मात्रै हो । देशलाई हिन्दू राज्य, बौद्ध राज्य वा क्रिश्चियन राज्य भनी अलग्ग गर्नु भन्दा धर्म निरपेक्ष बस्नु नै ठीक हो । राज्यले एउटै धर्मलाई प्राथमिकता दिनु हुँदैन ।

धर्म भनेको व्यक्तिको नितान्त व्यक्तिगत चीज हो । त्यसैले उनले आफूखुसि धर्म मनाउन पाउनु पर्दछ । व्यक्तिलाई कसैले जबजस्ती धर्म परिवर्तन गराउन खोज्नु पनि राम्रो होइन । आफूखुसि धर्म परिवर्तन गर्छ भने उनलाई छुट दिनु पर्दछ । कुनै लोभलाचलमा फसाएर वा जबजस्ती धर्म परिवर्तन गर्न लगाउनु अपराध हो । कसैलाई पनि कुनै धर्म मनाउन बाध्य पार्नु हुँदैन । सबै धर्म संस्कृति बराबर हुन् । व्यक्ति राम्रो चाहियो, धर्म रामै्र हुन पुग्छ । राजा ल्याउने हिन्दू राष्ट्र कायम गर्ने कुरा पुरानो नारा हो । मरेको मान्छेलाई बिउँताउने कुरा जस्तै मात्रै हो । यो सम्भव पनि छैन । टाउके टाउकेहरुलाई देखाएर पैशा खर्च गरी त्यो अभियान सञ्चालन गरेको पनि हुन सक्दछ । नभए देउवा, माधव नेपाल र कमल थापालाई मात्रै होइन कि पुष्पकमल दाहाललाई पनि उहीं हिन्दू राष्ट्रको नारालाई समर्थन गर्न लगाउने जस्ता कुरामा वा गतिविधिमा तान्नु प¥यो नै किन ?

कांग्रेसले राजा सहितको हिन्दू राज्यलाई मानेको बखत र बुद्धिमान तामाङले राजा भएकै बखत पनि किन हिन्दू राज्य हुनुपर्छ भनी कुरा उठाएन ? अहिले धर्म निरपेक्षताको बिरोध गर्नका लागि हिन्दू राज्यको कुरा उठाउनु सान्दर्भिक हुन्छ र ? यो त बेमौसमि नारा मात्रै हो । उनीहरुलाई म यो प्रश्न गर्न चाहन्छु कि दरवार हत्याकाण्ड कसले गरायो पहिला पत्ता लगाउनु, अनि मात्रै हिन्दू राज्य चाहियो भनी नारा लगाउनु उचित होला ।

समाज सेवा क्षेत्रमा लागेर तपाईले के पाउनु भयो, के गुमाउनु भयो ?

— समाज सेवा भनेको कुचो जस्तै हो । फोहर बदार्यो भने सफा हुन्छ । फोहर त्यतिकै राख्यो भने फोहर भएर जान्छ । फोहर सफा गर्ने काम नै समाज सेवा हो । त्यसको लागि नै धर्म निरपेक्षता आवश्यक छ । धर्म र संस्कृति मान्न पाउनु पर्छ भनी कराउन पाउने अधिकार कायम राख्न गरिने राजनीति पनि एक हिसावले उत्तम समाज सेवा हो । समाज सेवी व्यक्ति उच्च तह कै हुन्छ । तर समाजलाई परिवर्तन गर्र्ने भनी राजनीतिमा लागेका कयौं मानिसहरु सत्तामा पुगेपछि भ्रष्ट हुने गरेका छन् । भारतमा मोदी त्यस्तै भएको छ । गृह युद्ध निम्त्याउने भए मात्रै देशमा एक धर्म, एक संस्कृति र एक भाषा नीति लागू गरिन्छ । यदि देशलाई अन्याय प¥यो भने त म बुद्धिष्ट हुँ भनेर चूल लागेर बस्दिन । अहिले पनि भिक्षुहरु आन्दोलनमा छन् । नेपालमा राणा कालदेखि हालसम्म पनि भिक्षुहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरेकैले पनि यहाँ बारम्बार बिद्रोहरु हुने गरेको हो । समाज सेवीहरु कोही पनि एक धर्मको पक्षमा हुनु हुन्न । भारतमा डा. अम्बेस्करले बनाएको संविधानको आधारमा प्रधानमन्त्री बनेका मोदीले सो संविधानलाई कुल्चने प्रयास गरेपछि बिद्रोह सुरु भएको छ । अहिले नेपाल भित्र पनि २०७२ सालमा जारी धर्म निरपेक्षताको आधारमा बनेको संविधान बिपरित त्यसको आधारमा जितेर गएका सांसद र मन्त्रीहरुले काम गर्न थाल्यो भने अवश्य जनताले बिद्रोह गर्नेछन् । र त्यसमा बौद्ध जगतको पनि साथ रहने पक्का पक्की छ ।

अन्तर्राष्ट्रिय जगतमा बुद्ध धर्मको महिमा कायम राख्न के गर्नु पर्ला ?

— बौद्धनाथ, भक्तपुर दरवार स्क्वायर र लुम्बिनी जस्ता विश्व सम्पदा स्थल जोगाउने काम पहिला सरकारले गर्न सक्नु पर्दछ । पुरातात्विक बस्तुहरुको संरक्षण र विकासमा राज्यले ध्यान दिनु पर्दछ । यूनेस्कोको प्रतिनिधिहरुले पनि यहाँ बारम्बार अवलोकन गरी त्यसको हेरचाह भइरहनु पर्दछ । तर त्यसो हुन सकिरहेको छैन । अनि कसरी अन्तर्राष्ट्रिय जगतमा बुद्ध धर्मको महिमा अगाडि बढ्ला र ? लुम्बिनी मात्रै होइन कि हिन्दू धर्मका देवी देवता, पशुपति, जनकपुर, मिथिला क्षेत्र र स्वयम्भू जस्ता विश्वमा देखाउन लायक सम्पदाहरुलाई संरक्षण गर्ने काम राज्यको दायित्व भित्र ल्याउनु पर्दछ । त्यसको संरक्षण र विकासमा सबै लाग्न सकेको खण्डमा नेपाल त स्वर्ग नै हो । उपत्यका तलाऊ छँदा नै ज्योति उत्पत्ति भएर सिद्ध भएको मानिएको स्वयम्भू जस्ता अमूल्य सम्पदा स्थलमा के कस्तो नियम लागू गर्नु पर्दछ भन्ने कुरा नेपाल सरकार र युनेस्कोले ध्यान पु¥याउनु पर्दछ । सरकार यो त अन्तर्राष्ट्रिय स्तरले हेर्ने चीज हो भनी चूप लागेर बस्नु भएन । लुम्बिनी विशेष रुपमा हाम्रो हो । त्यसको संरक्षण र विकासको पहल त हामी आफैले गर्न सक्नु पर्यो नि । खालि बाहिरबाट आएको डलर खाएर केही पनि नगरी बस्ने काम राम्रै होइन । राज्यले हिन्दूहरुको दशैंमा जस्तो व्यवहार गरिन्छ, त्यस्तै हाम्रो बुद्ध जयन्ती, ल्होसार, इद, क्रिसमसमा पनि गर्नु जरुरी छ । बुद्ध नेपालमा जन्मेको नाताले पनि राज्यको प्रमुखको उपस्थितिमा राज्यकै तर्फबाट बुद्ध जयन्ती भब्य रुपमा मनाउनु आवश्यक छ । तर खोइ अहिलेसम्म त्यस प्रकारको काम भएको । यहाँ नेताहरु नै ठीक छैनन् । पहिलो व्यक्ति सही हुनु पर्दछ । अनि मात्रै राज्यले सही धारणा प्रकट गर्न सक्दछ । धेरै खर्च गराएर मनाउनु भन्दा राज्यको तर्फबाट सही नीति अबलम्बन गरी विभिन्न धर्मालम्बिहरुलाई उत्साहित गर्नु पर्दछ ।

बुद्ध आफैले मूर्ति पूजा नगर्नु भनिएको छ । सुनको मूर्ति बनाएर त्यस स्थानमा पूजा गरेर मात्रै पुण्य कमिन्न । उनको आदर्श र सिद्धान्त पालना गर्न लगाउने र गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । शान्तिपूर्ण र अहिंसाको जीवन विताउने वातावरण बनाउनु आवश्यक छ । त्यही नै शान्तपूर्ण जीवन जिउने र स्वर्ग प्राप्त गर्ने उपाय पनि हो ।

राज्यले बुद्ध धर्मलाई अगाडि ल्याउन नचाहेको कारण के होला ?

— यो राणा शासन कालदेखिको रोग हो । त्यो बेला पनि भिक्षुहरुलाई मार्ने र देश निकाला गर्ने गरेको थियो । दुई पल्ट त भिक्षुहरुलाई भारत पु¥यायो । अहिले गणतन्त्र आएपछि त त्यसो गर्न नपाउनु पर्ने हो । अहिले पनि भिक्षु र गुरुमांहरुले सुख सुविधापूर्वक धर्म प्रचार गर्न पाइरहेका छैनन् । बुद्ध धर्म सबैलाई राम्रो पार्ने आदर्श धर्म हो । अहिले पनि राज्यको धर्म बुद्धिष्ट हुनुपर्छ भन्ने पक्षमा हामी बुद्धिष्टहरु छैनौं । फगत धर्म निरपेक्ष भएर राज्य मौन बसिदियोस् भन्ने मात्रै हो । आ— आफ्नो धर्म अगाडि बढाउने काम धर्म गुरुहरुको हो । वक्ताहरुको हो । तपाईं हामी जस्ता अनुयायीहरुको हो ।

धर्म प्रचार गर्नै नपाइने हिसावले प्रतिबन्ध लगाएपछि बिद्रोह हुनु स्वाभाविक हो । धन्य नेपालमा हिन्दू, बौद्ध र क्रिश्चियन एकदम मिलेर बसेको अवस्था छ । त्यसलाई कायम राख्नु पर्दछ । कुनै एक धर्मको वकालत गरी धर्म निरपेक्ष देशलाई बिगार्ने दुश्प्रयास गरिनु हुन्न । पहाड, हिमाल र तराई रहेको, एक घण्टामा पनि फरक फरक हावापानी पाइने कति राम्रो स्वर्ग तुल्य यो देशमा हेरेर नै बुद्धले जन्म लिएका हुन् । त्यसैले पनि सगरमाथा जस्तो हिमाल, लुम्विनी जस्तो बुद्ध जन्मेको स्थल र अन्य प्राकृतिक सम्पदाको संरक्षण गर्न सक्यो भने स्वर्ग हेर्न कोही नेपालीहरु कतै जानै पर्दैन । यही स्वर्ग समान शान्त र आनन्दले जीवन जिउन सक्दछ ।

धर्म र दर्शनले समाज अगाडि बढाइन्छ र ? बुद्ध धर्म, धर्म कि सिद्धान्त ?

— जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिंद । ज्ञानको मूल भनेको शील, समाधि र प्रज्ञा हो । धर्म शासन भित्र पनि लोभी मानिसहरु देखा पर्न थाले । एकलाख चन्दा दिने अगाडि, ५० लाख दिन सक्ने बीचमा र १० हजार मात्रै दिनेलाई झन पछाडि पार्ने चलन आयो । यो पूँजीवादी चलन हो । तर धर्ममा त्यसो हुँदैन । श्रद्धापूर्वक दिने गरे १ पैशा पनि ठूलो हुन्छ । रिम्पोक्ष भन्ने तर पक्षपात गर्ने काम राम्रो होइन । शील पालना गरी व्यवहारमा लागू गर्न सके सबै थोक छ । महायान, हिमयान र बज्रायान तीनै थरीको बुद्ध धर्म एउटै हो । अझ विदेशीहरुलाई समेत हामी नेपालीहरुले बाटो देखाउन सक्ने भनेको उनी दीर्घनिकाय नै हो । तर हामीले त्यसलाई पनि परित्याग गर्दै गर्यौं । वास्तवमा जोगी र भिक्षु उस्तै हो । आफ्नो घरवारको माया त्यागेर सबै मानिसहरु बराबर हो भन्ने धारणा अगाडि राखी काम गरेको हुन्छ ।

यहाँ एउटा कथा अगाडि सार्न चाहन्छु । एक धनी मानिसले आफ्नो घरमा आएको जोगीलाई तपाई र म उस्तै उस्तै हौं भनेछन् । जोगीले फरक छ भनेछन् । पछि हिड्ने बेला जोगी कहिं कतै नहेरी आफ्नो लक्ष्य अनुसार फताफत अगाडि लागेछन् । तर धनी मानिस भने आफ्नो घर छोडेको एक घण्टादेखि नै नोकर चाकर के गर्दै होला, श्रीमती कता गएछ, छोरा छोरीले हिसाव हिताव राम्ररी राख्ने हो कि होइन भन्दै १०० पल्ट पछाडि फर्केर हेरेछन् । जोशीले अनि मात्रै भनेछन् कि ‘तपाईं र ममा यति फरक छ । म कतै हेर्न नपर्ने भएँ, तपाई घरतिर फर्केको फक्र्यै ।’

नाम र पद अनुसार त्याग र तपश्याको भावना नेता, कार्यकर्ता र साधारण व्यक्तिसंग पनि हुनु जरुरी छ । त्यसमा पनि रिम्पोक्ष भएका र भिक्षु जीवन विताएकासंग त हुनै पर्दछ । लोभी भएर भिक्षु बन्ने होइन । त्याग, तपश्या र बलिदानबाटै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भावना मनमा लिनु जरुरी छ । अनि मात्रै हामी समाधि तर्फ लम्कन सक्दछौं ।

अन्त्यमा एउट जिज्ञासा— यदि नेपालमा बुद्ध नजन्मेका भए के हुन्थ्यो ?

— नेपाल सोमालिया हुथ्यो । कसैले कसैलाई तर्दैनथ्यो । पाउनेले खान्थ्यो । नपाउनेले खानै नपाएर मर्नु पर्ने अवस्था हुन्थ्यो । अहिले पनि बुद्ध नेपालमा जन्मेकै होइन भनी भारतले त नेपाललाई त्यस्तै बनाउने सोच अगाडि सारेको छ नि । बेला बेलामा बुद्धको जन्मको बारे बिवाद अगाडि सारिन्छ । यदि चीन नभएको भए वा चीनसंग हामी नजिक नभएको भए भारतले नेपाल खाइसक्थे । हाम्रो राष्ट्रको लागि चाहियो भने चीनले जस्तो सुकै सहयोग गर्न तयार रहेकाले मात्रै नेपाल नेपाल भएर बाँचिरहेको हो । त्यसैले हामी भिक्षुहरु, लामाहरु चीनलाई अप्ठ्यारो नगरौं भन्छौं । तर सरकार यहाँ फ्री तिब्यतको नारा लगायो भनी हरेक वर्ष भिक्षुहरु माथि लाठीचार्ज गर्ने गर्दछ । बौद्ध लगायत काठमाडौंका विभिन्न स्थानमा लुकेर वा खुल्ला रुपमा भएपनि बस्दै आएका शरणार्थीहरुले नागरिकता माग गरेका छैनन् । चीनमा बस्न नपाएकाले बाध्य भएर एक छाक खाएर बस्न ४० वर्ष अगाडिदेखि बस्दै आएका हुन् । दुई दिन नेपालमा बसेर वा बिहे गरेको भोलिपल्ट नै भारतीय मूलकाले नेपाली नागरिकता पाउने बन्दोबस्त गर्न सक्ने सरकारले चीन तिब्वयतबाट दशकौंदेखि बस्दै आएका लाखौं लाख शरणार्थीहरुको पीर, मर्का र चिन्ता किन बुझ्दैनन् । भारतीयहरु लाखौं लाख यहाँ अंगिकृत नागरिता लिएर नेपाल छिरेको खण्डमा हामी मूलबासी नेपालीहरु कहाँ गएर बस्न जाने ? नेपाल फिजी नहोस् । अब फेरि हामी हिजो जस्तै प्रजा भएर बाँच्न चाहन्नौ । सर्वभौमसत्ता सम्पन्न नेपालका नागरिक भएर जिउन चाहन्छौं । सीता र गौतम बुद्ध जन्मेको ठाउँ सोमालिया वा फिजी भएर थोत्रो हुनु छैन । उन्नति र प्रगतिको लागि सबै नेपाली एकजुट हुने खालको वातावरण सरकारले बनाइदिनु पर्दछ । त्यस्तो वातावरण हिजो राणाहरुले दिएनन् । पंचायतले दिने कुरै भएन । प्रकृतिले दिए, नेताहरुले दिएनन् । राणा, कांग्रेस र कम्युनिष्टहरुले पनि दिएनन् । त्यसैले आफ्नो लागि अब आफै जुट्ने बेला भएको छ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,