नीजि विद्यालयको युग हटाउने बहस चलाउँदा केही हुटहुटी

नीजि विद्यालय कंगालीकरणको प्रमुख साधन सामान्यतया शिक्षा समृद्धिका लागि हुन्छ । तर नीजि विद्यालय व्यक्ति र समाजको कंगालीकरणको साधन बनिरहेको देखिन्छ । बिद्यालयले लिने शुल्क छदैछ तर त्यसका अलावा पनि लुट्ने विभिन्न माध्यमहरु छन् । ती माध्यमहरु मध्ये प्रमुख माध्यमहरु निम्न छन् । कंगालीकरण सम्बन्धी प्रमुख गतिबिधिहरु :

१. एक जना कपी उद्योग संचालक तथा पुस्तक पसलेका अनुसार उनी आफ्ना छोराछोरी पढ्ने स्कुलको गेट छेउ पुस्तक तथा स्टेशनरी पसल चलाउछन् तर उनको पुस्तक तथा स्टेशनरी सामग्री त्यस बिद्यालयमा चल्दैन । विद्यालयको कार्टेलिङ र सिण्डिकेट छ, जहाँ कमिशनको सेटिङ छ र विद्यालयले तोकेकै पसलबाट पुस्तक खरिद गर्नै पर्छ ।

२. बिद्यालयले हरेक वर्ष पुस्तकका सुचीहरु परिवर्तन गर्छ । पुस्तकको सुची सेटिङ गरेको पसललार्इ मात्र दिन्छ । जसले गर्दा विद्यार्थीहरुले पुराना पुस्तक आफ्नै दाजु दिदीका छन् भनेपनि प्रयोग गर्न नसकुन् र कमिशनका लागि सेटिङ गरिएको पुस्तक पसलबाट मात्र किन्न सकुन् ।

३. बिद्यार्थीले स्टेशनरी आफैले किन्न पाउदैनन् । विद्यालयबाटै किन्नु पर्छ । विद्यालयले स्टेशनरीको नाममा लाग्ने रकमको कैयौ गुणा बढी उठाउँछ तर कतिको स्टेशनरी विद्यार्थीले खपत गरे कहिल्यै हिसाब दिदैन ।

४. विद्यार्थीले पोशाक विद्यालयले तोकेकै पसलमा बजार मूल्य भन्दा जति बढी भएपनि किन्नै पर्छ जसले विद्यालयले पोशाकका नाममा समेत लुट्छ । विद्यार्थी टाइ, बेल्ट, मफलर लगायत हरेक सामानमा कमिशन बुझाउन बाध्य छन् ।

५. विद्यालयले गर्ने हरेक अतिरिक्त क्रियाकलाप तथा भ्रमणकालागि लिने रकम पनि दोब्बर नै हुने गरेका छन् ।

६. विद्यालयले भर्ना गर्दा देखाउने शुल्कका अलाबा विभिन्न बहानामा तोकिएको शुल्क भन्दा बढी शुल्क लिइएको पाइन्छ । यी र यस्ता गतिविधिले यो क्षेत्र नाफा उद्योग भएको ठहर गर्दछ । नीजि विद्यालयलाई बन्द गर्नु पर्छ भन्दा बिरोध गर्नु पर्ने किन रु विद्यालयलाई दण्ड केन्द्र नबनाउ, गृहकार्य डरको नाममा नरटाउ र उत्पादित जनशक्तिलाई विदेशी खेतालाको रुपमा विकास हुन नदिनका लागि नीजि विद्यालयको युग हटाउने बहस चलाउँदा केही हुटहुटी सुनियो । यसबाट असंतुष्ट लगानीकर्ता र त्यहाँ कार्यरत शिक्षकहरु देखिए । कतिपय अभिभावक समेत आश्चर्यमा परे । तर शिक्षालाई नाफाको व्यवसायबाट अलग गर्न आवश्यक छ ।

त्यसकालागि संविधानको मर्म अनुरुप हरेक नागरिकको गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकार स्थापित गर्नुपर्ने छ, जसका लागि हामीले पैसा भएको परिवारमा जन्म लिए शिक्षा लेउ भन्न मिल्दैन । त्यसका लागि नीजि विद्यालयका सम्पूर्ण संरचना, मानव स्रोतहरु आवश्यक पर्छ मात्र व्यवसायकालागि लगानी गर्नेहरुको लागि मुआब्जा आवश्यक पर्छ । नीजि विद्यालय रोजिनुको कारण सामान्यतया नीजि विद्यालयमा बालबालिकालाई बढाउन नसक्नु भनेको आफ्नो इज्जत बचाउन नसक्नु भन्ने आम मान्यता स्थापित गराइएको छ ।

शिक्षालाई लुटको साधन बनाउन को को जिम्मेबार राष्ट्रिय शिक्षा आयोग २०४९ : यस आयोगले नीजि विद्यालयहरुलाइ प्रोत्साहन गर्न सिफारिस गर्यो । नीजि विद्यालय संचालनको कुनै मापदण्ड तोकेन । नाफा कमाउन सकेसम्म कमाउ भन्ने अभियान । शिक्षा मन्त्रालयस् २०४६ साल पछि शिक्षा मन्त्रालयले नीजि विद्यालय पोस्ने र सामुदायीक विद्यालय धारासायी बनाउने कुरामा अप्रत्यक्ष ढंगले सहयोग गर्यो । मन्त्रालयले शुल्क वृद्धि गर्दा त्यहाँ कार्यरत शिक्षकको सेवा सुबिधा सम्बन्धमा कहिल्यै चासो राखेन केवल त्यसका लगानीकर्ताको गोजी भर्न मात्र सहयोग गर्यो । तर यी नीजि विद्यालयले दैनिक यात्रा खर्च वा बस भाडा समेत नपुग्ने गरि त्यहा सेक्युरिटी, कर्मचारी र शिक्षक राखेर श्रमको चरम शोषण गरिरहेछन् तर मन्त्रालय त्यसको चासो राख्दैन केबल लगानीकर्तालाइ बढी नाफा कमाउन दिन शुल्क वृद्धि गर्ने ढोका मात्र खोलिदिएको छ ।

पाठ्यक्रम विकास केन्द्र : पाठ्यक्रम बिकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक नीति सही ढंगले निर्माण नगर्दा वा नीजि विद्यालय संचालकको माफिया प्रभावमा परेर हो लुटका विभिन्न ढोका खोलिएको छ । शिक्षाको कुन मापदण्ड कसरी पूरा हुनु पर्छ भन्ने मापदण्ड जारी गर्न नसक्नु । हरेक नीजि बिद्यालयलाइ आफुखुसी पाठ्यपुस्तक चयन गर्न र परिवर्तन गर्न दिनु जस्ता लुटका ढोका खोलिदिएको छ । नीजि बिद्यालयले हरेकले अर्को कुनैपनि विद्यालयसँग नमिल्ने गरि पाठ्यपुस्तकको नया सुची बनाउँछ जसले गर्दा सबै विद्यार्थीले कमिशनका लागि सेटिङ गरिएकै पुस्तक पसलबाट मात्र किन्न सकुन् । अघिल्लो वर्षका कुनैपनि पुस्तक नमिल्ने गरि सुची बनाउँछ जसले गर्दा नयाँ पुस्तकबाट आउने कुनै कमिशनमा कमी नआओस् । न त यहाँ कुनै गुणस्तर छ न त सम्बन्धीत निकायलार्इ नै कुनै चासो छ अनि कसरी शिक्षाले समृद्धिलाई सहयोग गर्दछ । यस बेथिति नियन्त्रण गर्ने निकाय पाठ्यक्रम विकास केन्द्र नै हो जो यदि जिम्मेवार बन्छ भने यसलार्इ नियन्त्रण गरोस् ।

गाउँ/नगरपालिका : गाउँ तथा नगरपालिकाले प्रभावकारी रुपमा काम गर्न सकेको छैन । गाउँ तथा नगरका अभिभावकहरु, शिक्षाविदहरु तथा शिक्षासेवीहरु सबैको सहकार्यमा आफ्ना क्षेत्र भित्रका विद्यालयहरुमा के कस्ता अतिरिक्त सुबिधाहरु थप गरेर सामुदायीक विद्यालयलाई स्थापित गराउने भन्ने सोचको कमि देखिन्छ ।

राजनीतिक दलहरु : राजनैतिक दलका नेताहरु चुनाव अघिसम्म सुधारका हल्ला फिजाउने, तिनै नीजि विद्यालयका लगानीकर्ताबाट मोटो चन्दा लिइ चुनाव जित्ने र चुनाव जितेपछि तिनै माफियाको स्वार्थ अनुरुप कार्य गर्नाले पनि लुट धन्दा मौलाउदै गएको छ ।

PAPSON र NPABSON: यी संस्थाहरु नीजि विद्यालयलाई मर्यादित बनाउने भन्दा लुट धन्दालाइ नै प्रश्रय दिएको पाइन्छ नत्र PABSON को उपाध्यक्ष ले संचालन गरेको स्कुलमा यी लुट धन्दा नहुनु पर्ने हो तर अन्य बिद्यालयमा भन्दा त्यस बिद्यालयमा बढी नै लुट धन्दा चलाइएको छ । यसले के देखाउछ भने पेशागत संस्थाहरु पेशागत मर्यादामा नरहदा समेत लुट धन्दा बढीरहेको छ ।

अबको समाधान

१. सरकारले सामुदायीक विद्यालयको गुणस्तर सुधार गर्नु पर्यो जसकालागि कि त शिक्षामा कम्तीमा २५% बजेट छुट्याउनु पर्यो र सबै विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित हुनुपर्यो,

२. सरकारी सेवा तथा सुबिधा उपभोग गर्न सामुदायिक विद्यालय पढेको वा पढाएको ब्यबस्था सुनिश्चित गर्ने,

३. सरकारी ढुकुटीबाट तलब खानेका छोराछोरी सामुदायीक विद्यालय पढाउनु पर्ने नीति बनाउने,

४. सामुदायीक विद्यालयमा बिपन्न परिवारका बालबालिकाको लागि निशुल्क र अन्यकोलागि प्रगतिशिल शुल्क प्रणाली अपनाउनु पर्ने,

५. पूर्वप्राथमिक तह सहित पढाउने योग्यता शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तह कायम गरिनु पर्ने,

६. विद्यालयमा पर्याप्त भौतिक सुबिधा जस्तै यातायातको सुबिधा, गुणस्तरीय चमेनागृह, पुस्तकालय आदि सुनिश्चित गरिनु पर्ने,

७. बालबालिकाको रेखदेख र स्याहार गर्न गैर शिक्षण जनशक्तिको व्यबस्थापन गर्ने,

८. पाठ्यक्रमको गुणस्तर बढाउने। एक्काइसौ शताब्दीमा आवश्यक क्षमता विकास गर्ने। बिषयबस्तुको स्तर बढाउने। शिक्षा मार्फत समृद्धि हासिल गर्ने पाठ्यक्रम निर्माण गर्ने,

९. शिक्षा प्रशासकको चासोमा आधारित नभएर जनताको चासोमा आधारित शिक्षण संचालन गर्ने,

१०. शिक्षाप्रति चासो राख्ने अभिभावकको संलग्नता बढाउने,

११. संस्थागत बिद्यालयहरुलार्इ आपसी सहमतिमा क्रमशः सामुदायिक बिद्यालयमा रुपान्तरण गर्दै जाने ।

जीवन ढुङ्गाना
प्राध्यापक
सानो ठिमी क्याम्पस, भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ५ जेठ । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई

विरगञ्ज, ५ जेठ । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण

काठमाडौँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ