काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय संवेदनाबिच सन्तुलन आवश्यक रहेको बताएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत लामाको घटनालाई लिएर ट्राफिक नियम पालना गराउने विषयसँगै नागरिकले आफूलाई नसुनिएको, असहाय वा अन्यायमा परेको महसुस गर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाएकी हुन्।
उनले यसअघि गणेश नेपालीको घटनामा पनि यस्तै प्रश्न उठाएको उल्लेख गर्दै नियम उल्लङ्घन भए कानुनी कारबाही हुनुपर्ने तर कानुन कार्यान्वयन गर्ने क्रममा नागरिकको सम्मान र मानवीय पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताएकी छन्।
श्रेष्ठका अनुसार घटनालाई तत्काल ‘नागरिक सही कि प्रहरी सही’ भन्ने दुई पक्षमा विभाजन गरेर बहस गर्नुको सट्टा राज्य संयन्त्र कहाँ चुकिरहेको छ भन्नेबारे समेत समीक्षा आवश्यक छ।
उनी भन्छिन्–’ट्राफिक प्रहरी गलत छन् भन्नु पनि होइन। कानुन चाहिँदैन भन्नु त झन् होइन। जबाफदेहिता र मानवीयता सँगसँगै हुन सक्दैन र?’
उनले सामाजिक सञ्जालमा घटनालाई केवल विवाद वा ‘कन्टेन्ट’का रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरेकी छन्। नागरिकले आफूलाई अन्याय भएको वा आफ्नो कुरा सुनिदिने कोही नभएको महसुस गर्नुअघि नै गुनासो राख्ने र न्याय खोज्ने प्रभावकारी प्रणाली आवश्यक रहेको उनको भनाइ छ।
श्रेष्ठले ‘नियम, कारबाही र जबाफदेहितासँगै मानवीयता, सम्मान र सुन्ने प्रणाली पनि आवश्यक छ’ भन्ने धारणा राखेकी छन्।






