(जेष्ठ १९, कैलाली) । कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरी (भोलेबाबा)लाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद र एक लाख रुपिया जरिवानाको फैसला गरेको हो ।
सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने भोले बाबाका सहयोगीहरुलाई पनि कैद सजाय सहित जरिवाना फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ । अदालतका अनुसार, पार्वती भनिने किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरिएको छ । यसैगरी, अर्का सहयोगी स्मारिका चौधरीलाई छ महिना कैद र २५ हजार रुपिया जरिवाना सुनाइएको छ ।
रामबहादुरको सहयोगीकै रुपमा पक्राउ परेका अन्य तीन जनाले भने सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र राम बहादुरकी आमा सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।






