काठमाडौँ, ४ चैत । सरकारले कक्षा १० एसईईको परीक्षा निर्धारित तालिका अनुसारनै हुने जनाएको छ ।
कोरोना भाइरसको सन्त्रास सन्सारभर फैलिरहेको बेलामा एसईईको परीक्षा के हुन्छ भन्ने चासो भैरहेका बेलामा परीक्षा नियत्रण कार्यालयले परीक्षा तोकिएकै तालिका अनुसार चैत्र ६ गते बिहिवारबाट शुरु हुने जनाएको हो ।
परीक्षामा काठमाण्डौबाट सबैभन्दा बढी र मनाङबाट सबैभन्दा कम परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । प्रत्येक परीक्षा केन्द्रमा एकजना स्वास्थ्यकर्मी आवश्यक उपकरण र औषधी सहित राखिने र शंका लागेका परीक्षार्थीलाई बेग्लै कोठामा राखेर परीक्षा दिन लगाउने तयारी गरिएको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीहरुले समेत परीक्षामा सहभागी हुँदा सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । भाइरसबाट जोगिनका लागि सावधानी अपनाउँदै निश्चिन्त भएर परीक्षामा सहभागी हुन परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ ।
परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुँदैछन् । यी परीक्षार्थीका लागि मुलुकभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र र सोही अनुसारको जनशक्ति परिचालन गर्ने तयारी कार्यालयको छ ।






