रसुवा, २८ असोज । भोटेकोशी बाढीबाट पाठ्यपुस्तक गुमाएका उत्तरगया गाउँपालिकाका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने उद्देश्यले एसिया नेपालले पाठ्यपुस्तक उपलब्ध गराएको छ ।
बाढीका कारण नीलकण्ठ माध्यमिक विद्यालय, डाँडागाउँ माध्यमिक विद्यालय, शिवालय आधारभूत विद्यालयलगायत अन्य विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीका पाठ्यपुस्तक बगाएको र शैक्षिक गतिविधि प्रभावित भएको थियो । त्यसपछि उत्तरगया गाउँपालिकाको अनुरोधअनुसार एसिया नेपालले आवश्यक पाठ्यपुस्तक खरिद गरी सहयोग गरेको हो ।
उत्तरगया गाउँपालिकासँगको समन्वयमा प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको एसिया नेपालका प्रतिनिधि प्रवेश खनालले जानकारी दिए। उनका अनुसार विपद्पछि विद्यार्थीको शिक्षामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले गाउँपालिकाको आवश्यकताअनुसार तत्काल पाठ्यपुस्तक उपलब्ध गराइएको हो ।
यस सहयोगबाट नीलकण्ठ माध्यमिक विद्यालय, डाँडागाउँ माध्यमिक विद्यालय, शिवालय आधारभूत विद्यालय तथा अन्य विद्यालयका विभिन्न कक्षामा अध्ययनरत बाढी प्रभावित विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।








