काठमाडौँ, २९ फागुन । कोरोना भाइरसको महामारीबाट अर्थतन्त्र जोगाउन विश्वव्यापी रूपमा खर्बौं रुपैयाँका प्रोत्साहन योजना सार्वजनिक हुँदै गर्दा नेपालले भने त्यसतर्फ खासै अग्रसरता देखाएको छैन । अर्थ मन्त्रालयका अधिकारीले नयाँ प्रकोपका कारण नेपाली अर्थतन्त्रले भोग्ने समस्याको आँकलन भइरहेको बताएका छन् ।
पर्यटन व्यवसायीले राहत कार्यक्रम छिटो ल्याउन माग गरिरहेका छन् । नेपालमा कोरोना संक्रमण नभए पनि यसले ठूलो मात्रामा रोजगारी कटौती गर्नसक्ने, पर्यटन, यातायातलगायतका सेवा क्षेत्रमा जटिल समस्या उत्पन्न हुन सक्ने र वैदेशिक रोजगारीबाट फर्कनेलाई व्यववस्थापन गर्ने जोखिम बढ्न सक्ने आँकलन गरिएको छ। त्यसबाहेक मूल्यवृद्धि र कमजोर आर्थिक वृद्धिको सामना गर्नुपर्ने सरकारी अधिकारी बताउँछन् ।
राष्ट्र बैंकले १९ फागुनमा जारी गरेको मौद्रिक नीतिको मध्यावधि समीक्षामा कोरोना भाइसरसका कारण असर पर्नसक्ने सम्भावित क्षेत्र पहिचान गर्ने भनिएको छ । ‘त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था आवश्यकताअनुसार पुनरवलोकन गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ ।
उक्त नीतिले व्यवसायीलाई चैतमा तिर्नुपर्ने ब्याज केही महिनापछि तिर्न सक्ने गरी बाटो खोलिदिनेछ । केही व्यवसायीले सस्तो ब्याजमा नयाँ ऋण लिएर पुरानो कर्जा चुक्ता गर्न सक्नेछन् । तर नीतिगत रूपमा अघि सारिएको यो व्यवस्था कार्यान्वयन चरणमा पुग्न समय लाग्ने देखिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।






