बढ्दै चेक बाउन्सका घटना

काठमाडौँ, २० पौष । ललितपुर सानेपाकी रितु (नाम परिवर्तन) ४ करोड २० लाखको चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा पुगिन् । करिब दुई साताअघि जग्गा कारोबार गर्दा दुवै पक्ष जिल्ला मालपोत कार्यालय ललितपुरमा गएका थिए । त्यहाँ सम्पति स्रोत खुलाई चेकमार्फत भुक्तानी गर्ने सहमति भयो । सोही अनुसार उमेश बस्नेतले उनलाई चेक हस्तान्तरण गरे ।

चेक हातमा परेको भोलिपल्ट उनी वाणिज्य बैंक पुगिन् । चेक दिने व्यक्तिको खातामा पैसा नभएपछि उनलाई शंका लाग्यो । ती व्यक्तिलाई फोन गर्दा स्विचअप थियो । त्यसपछि रितुलाई तनाव भयो । तीन दिनसम्म चेक बोकेर बैंक धाइरहिन् ।

बैंकका कर्मचारीले ‘हुँदैन, चेक बाउन्स छ’ भनिदिएपछि आफू ठगिएको महसुस गर्दै उनी प्रहरी गुहार्न टेकु पुगेकी थिइन् । ‘खातामा पैसा होला भनेर कारोबार गरियो, मालपोतमा चेकबाट पैसा दिने सहमति पनि भएको थियो तर तीनपटक बैंकमा साट्न जाँदा चेक दिने व्यक्तिको खातामा पैसै रहेनछ,’ उनले सुनाइन् । प्रहरीका अनुसार चेक बाउन्स कारोबार गर्ने व्यक्ति फरार छन् ।

अर्का एक व्यक्ति पनि त्यसैगरी बाउन्स चेकमा फसेको भन्दै फाइल बोकेर आइपुगे । उनको चार करोड १७ लाखको चेक बाउन्स थियो । जग्गा व्यवसायीले नै बाउन्स चेक दिएर ठगेको उजुरी प्रहरीमा दिएर उनी फर्किए । ‘मोटो रकम चेकमै कारोबार हुने भएकोले विश्वास गरेर चेक बोकियो, साट्न जाँदा खातामा पैसा रहेनछ,’ ती व्यक्तिले सुनाए ।परिसरमै भेटिएका विराटनगरका सुरेश बस्नेत पनि चेक बाउन्समा ठगिएका थिए । लुगा खरिद गर्दा विराटनगरकै व्यापारी मुकेश शाहले दिएको चेक बाउन्स भएपछि उनी उजुरी दिन परिसर आएका थिए । ‘मेरो मोबाइल पसल थियो,’ उनले भने, ‘त्यहीं कारोबार भयो, साट्न जाँदा खातामा पैसा थिएन ।’

चेक बाउन्समा ठगिएका यी उदाहरण हुन् । परिसरमा चेक बाउन्सका दैनिक २० वटा उजुरी पर्छन् । ती उजुरी १ लाखदेखि पाँच करोडसम्मका चेक बाउन्ससम्बन्धी छन् । परिसरको तथ्यांकअनुसार बैंकिङ कारोबारअन्तर्गत चेकमार्फत ठगी गर्नेको संख्या बढेको छ । साउनयता दुई हजार १ सय ८६ वटा चेक बाउन्स भएको उजुरी परिसरमा परेको छ । यसमध्ये चार करोडभन्दा माथिका ३ वटा, दुई करोडका ४ वटा छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज