काठमाडौँ, १७ पौष । मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ । बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो ।
सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दूधलगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ । सरकारले गत साल बनाएको मध्यकालीन त्रिवर्षीय कृषि योजनामा आव ०७७/७८ सम्म कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य छ ।
भन्सार विभागका अनुसार चालु आव २०७६/७७ को पहिलो पाँच महिनामा ७७ अर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको छ । यहीं उत्पादन गर्न सकिने चामल, गहुँ, तरकारी, फलफूल, खाने तेल, माछामासु, जीवित पशु, चिया, कफी, खाद्यान्नको बीउलगायत पनि उच्च मात्रामा आयात भएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका पूर्व सचिव सुरोज पोखरेल किसानलाई कृषिमा आकर्षित गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको हो । सरकारले खर्च गर्ने बजेट र सेवा लक्षित समुदायमा पु-याउन नसकेकाले उत्पादन नबढ्दा विदेशबाट आयात गर्नुपरेको पोखरेलको दाबी छ । ‘८५ प्रतिशत किसानले आवश्यकताअनुसार सरकारी सेवासुविधा पाउन सकेका छैनन्,’ पोखरेलले भने, ‘उत्पादन बढाउन लक्षित समुदायमा अनुदान पु-याउनुपर्छ ।’ पोखरेलका अनुसार अहिलेको अनुदान वितरण पद्धति पनि परिवर्तन गर्नुपर्छ । याे खबर नागरिक दैनिकमा छ ।






