काठमाडौँ, १५ पौष । जापान एअरलाइन्सले विदेशी पर्यटकहरूलाई आन्तरिक उडनका ५० हजार टिकट निःशुल्क दिने भएको छ ।
सिएनएनका अनुसार एअरलाइन्सले आगामी गर्मीयामका लागि आन्तरिक उडानका आते-जाते टिकट सित्तैमा दिने भएको हो । जापानका कम भ्रमण गरिएका स्थानहरूको प्रचार र प्रवर्द्धन गर्नका निम्ति यो योजना ल्याइएको हो ।
आगामी जुलाइदेखि सेप्टेम्बरमा हुने ओलम्पिकमा थुप्रै पर्यटक जापान पुग्नेछन् । राजधानी सहरमा मात्र मान्छे नबसून्, अन्त पनि घुमून् भन्ने उद्देश्यले निःशुल्क टिकटको योजना ल्याइएको हो ।
जापान एअरलाइन्सले वितरण गर्ने ५० हजार टिकट जित्न केही शर्तहरू भने छन् । जापानबाहिरको माइलेज बैंकमा दर्ता भएर यस्तो निःशुल्क टिकटका लागि निवेदन दिन सकिन्छ । र, आवदेन दिएको केही दिनसम्म व्यक्तिले कुन ठाउँको टिकट पाउँछ भन्ने जानकारी हुँदैन ।
एअरलाइन्सले जापानका चार गन्तव्य सुझाउनेछ जसको उडान टोकियोको हानेडा विमानस्थल, ओसाकाको इटामी वा कन्साइ विमानस्थलबाट हुनेछ ।







