चितवन, ६ पौष । चितवनको भरतपुर महानगरपालिकाले कृषि प्रवर्द्धन तथा यान्त्रीकरणका लागि किसानलाई ४ करोड रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले कृषिलाई प्रमुख प्राथमिकता दिएर गत वर्षको भन्दा बढी अनुदान दिन लागेको जानकारी दिइन् । महानगरपालिकाले नेपाल सरकारको ससर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरुलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको छ ।
महानगरको आफ्नै बजेटबाट दुई करोड ४७ लाख ५० हजार र नेपाल सरकारबाट एक करोड ७३ लाख रूपैयाँ अनुदान वितरण गर्न लागिएको महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमालले जानकारी दिए । अनुदानका लागि महानगरले समूह, सहकारी तथा निजी फर्महरुसँग प्रस्ताव माग गरिसकेको छ ।





