काठमाडौँ, १४ मंसिर । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेको छ ।
यो साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार अन्तिम कारोबार दिन बिहीबार ४.६७ अंकले घट्दा परिसूचक १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा खसेको छ । बिहीबार नोभेम्बर महिनाकै अन्तिम कारोबार दिन समेत हो ।
अघिल्लो साता पनि बजारमा सिथिलता नै छाएको थियो । साताको अन्तिम कारोबार दिन ११३५.९५ बिन्दुमा बजार बन्द भएको थियो ।
नोभेम्बर महिनाभरको सेयर कारोबारको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक ३३ दशमलव ३८ अंकले घटेको देखिन्छ । नोभेम्वर ३ तारिखका दिन पहिलो कारोबार सुरु हुँदा ११४६.१७ विन्दुमा रहेको नेप्से परिसुचक महिनाको अन्तिम कारोबार दिन २८ तारिखमा १११२.७९ बिन्दूमा खुम्चिएको छ ।
यसरी बजार लगातार ओरालो लाग्दा सेयर लगानीकर्ताहरुले भने सरकारलाई दोष दिएका छन् । बजार उकास्न सरकारले कुनै रणनीति नबनाइ टुलुटुलु हेरेर बसेको उनीहरुको आरोप छ ।






