काठमाडौँ, १३ मंसिर । जुम्लाको गुठीचौर गाउँपालिकाले कुकुर, बिरालो तथा अन्य पशुको उपचारमा समेत कर लगाएको छ । पशु बिरामी भएमा स्थानीयले १० देखि ५० रुपैयाँसम्म कर तिर्नुपर्ने बाध्यता छ । दैलेखको महाबु गाउँपालिकाले विकास योजनाको सम्झौता गर्दा र भुक्तानी लिँदा पाँच/पाँच सय रुपैयाँ कर लगाएको छ । नारायण नगरपालिकाले अधिकांश वडामा जग्गा मूल्यांकनको दररेट बढाउँदा स्थानीयवासी ऋण लिएरै भए पनि कर बुझाउन बाध्य छन् ।
दैलेखका ११ वटै स्थानीय तहका कर शीर्षक र रकम फरकफरक छन् । सुविधाविहीन बस्तीमा पनि सदरमुकामकै दरमा कर लगाइँदा स्थानीयलाई आर्थिक भार परिरहेको छ । अधिकांश स्थानीय तहले गत वर्षभन्दा १० प्रतिशत कर रकम वृद्धि गरेका छन् ।
नारायण नगरपालिका–१० का भुवन बोगटीले सुविधा नहेरेरै नगरपालिकाले जथाभावी जग्गा मूल्यांकनको रकम बढाउँदा अधिकांश बासिन्दाले तिरो तिर्न नसकेको बताए । ‘नगरले लागू गरेको दररेटमा जग्गा बिक्री हुँदैन, बेकार कर मात्र तिर्ने काम भइरहेको छ,’ उनले भने, ‘यस वर्षको नगरसभाबाट थप १० प्रतिशत कर वृद्धि गरिएपछि विपन्न नागरिकलाई कर तिर्नै धौधौ छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।





