एजेन्सी, १२ असोज । भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।
त्यहाँको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारत सरकारको निर्णयको प्रत्यक्ष असर नेपालको बजारमा पर्ने देखिएको छ ।
निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको भारत सरकारका प्रवक्ता सितांशु केरले सञ्चार माध्यमहरुसँग बताएका छन् । केरका अनुसार आइतबारबाट लागू हुने गरी सबै प्रकारका प्याजको निर्यात रोकिएको छ ।
भारतीय सञ्चार माध्यामहरुकाअनुसार दिल्ली तथा मुम्बई जस्ता शहरमा प्याजको औसत मूल्य ७० देखि ८० रुपैयाँ भारु पुगेको छ । भारतमा प्याजको होलसेल मूल्य प्रति क्वीन्टल ४ हजार भारुबाट पछिल्लो एक महिनामै एक हजार रुपैयाँले बढेको थियो ।
आइतबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ यस्तै सुकेको प्याजको खुद्रा मूल्य भने १०५ रुपैयाँसम्म पुगेको छ ।







