काठमाडौँ, ८ असोज । गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको सुरुवातमा भने ह्वात्तै बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपैयाँ विदेशी लगानीबापत प्राप्त गरेको छ ।
अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपैयाँ मात्र थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा प्राप्त भएको विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो । नेपालले गत आवमा १३ अर्ब छ करोड रुपैयाँ विदेशी लगानी प्राप्त गरेको थियो ।
त्यसको अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । सरकारले यसबीचमा गत फागुनमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दोस्रो पटक विदेशी लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा ३० खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्राप्त भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।






