चितवन, १३ माघ । एक पछि अर्को सामाजिक कामलाई तिव्र गतिका साथ अघि बढाउने क्रममा नेपाली हास्य कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) तथा सितारम कट्टेल (धुर्मुश)ले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ ।
महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ । रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने भएको छ ।
सो जग्गा रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ । रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै जानकारी दिइने भएको छ । राष्ट्रिय गौरवको यस अभियानमा सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने भएको हो ।
कलाकारिताबाट समाजसेवामा लाग्नुभएका कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ । ती बस्तीमा ३२० बढी परिवार बसोबास गर्दै आएका छन् ।






