काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा नेपालको पोजिसन पेपर तयार भइसकेको बताएकी छन् ।
आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले जलवायु परिवर्तनले पारेको असरसम्बन्धी विभिन्न प्रतिवेदन र सुझावहरूलाई आत्मसाथ गर्दै नेपालको पोजिसन पेपर तयार गरिएको बताइन् ।
उनले जलवायु परिवर्तन सम्मेलनका क्रममा आएका सुझावहरूलाई समेत मध्यनजर गर्दै नेपालको पोजिसन पेपरलाई अन्तिम रुप दिइने उल्लेख गरिन् । मन्त्री चौधरीले कोप ३१ मा सहभागीताका लागि समावेशितालाई ध्यान दिइने बताइन् । कोप सम्मेलनमा भाग लिएर आइसकेपछि त्यसको समीक्षा र उपलब्धीको मापनका साथै फलोअपमा पनि काम गर्ने उनको भनाइ छ ।
बैठकमा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले ३१औँ कोपमा सहभागी हुन ३१ वटा कार्यबुँदा समेटेर प्रारम्भिक कार्ययोजना तयार पारे पनि भोटेकोसीको बाढी र क्षतिको घटनापछि पूर्वधार तथा जलवायुजन्य असरका थप मुद्दाहरूलाई एजेन्डामा समावेश गरिएको बताए ।
कोपका लागि नेपालको आधिकारिक ’कन्ट्री पोजिसन पेपर’ तयार भएको जानकारी दिँदै उनले राष्ट्रिय जलवायु सम्मेलनमा त्यसलाई सार्वजनिक गरिने उल्लेख गरे ।
नेपालको पोजिसन पेपरमा अनुकूलन, प्रविधि, वित्त र क्षमता अभिवृद्धिका विषयहरू समावेश गरिएको उनले जानकारी दिए ।







