भक्तपुर, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले डा. गोविन्द केसीकै कारण हजारौं डाक्टर बन्ने सपना बोकेर अध्ययन गरिरहेका चिकित्सा क्षेत्रका विद्यार्थीको भाग्य र भविष्य अधुरो हुँदै गएको बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघरमा सञ्चालनमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लि।ले आजबाट शुरु गरेको सिटी स्क्यानको शुभारम्भ गर्दै सांसद बस्नेतले गलत मुद्धाहरु राखी अनसन बस्नुको कुनै अर्थ छैन नभएको बताउनुभयो । डा. केसीको माग आम नेपाली चिकित्सा क्षेत्रका व्यक्तित्वलाई नभई कुनै राजनैतिक दलको भरमा गरिएको बताउँदै यस्तो गल्ती पटक पटक नगर्न डा. केसीलाई आग्रह समेत गर्नुभयो । उहाँले डा. केसीको विरुद्धमा देशभर विरोध शुरु हुँगै गएको भन्दै डा. केसीलाई अनावश्यक कुराको पछि नलाग्न समेत सांसद बस्नेतले आग्रह गर्नुभयो ।

आफु नागरिक हस्पिटलको विशेष शुभचिन्तक रहेको बताउँदै सांसद बस्नेतले तुलनात्मक रुपमा नागरिक अस्पतालमा जनताको विश्वासलाई जित्दै गइरहेको बताउनुभयो । उहाँले नागरिक अस्पतालमा देशका धेरै जिल्लादेखि नर्सिङ अध्ययन गर्न आउने गरेको भन्दै अस्पतालले भक्तपुर जिल्लामा मात्र सेवा प्रदान नगरी देशभर सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरिव र पिछडिएको वर्गलाई विशेष ध्यान दिई सेवा सञ्चालन गर्नुपर्नेमा जोड समेत दिनुभएको छ ।
नागरिक समुदायद्वारा संचालित भक्तपुरको एक मात्र अस्पताल भएको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्य समेत अघि बढिरहेको जानकारी गराउँदै उक्त कार्यको लागि ३०० रोपनी जग्गा आवश्यक भएको रहेको बताउनुभयो । उहाँले उक्त जग्गा भक्तपुरमा निर्माण हुने स्मार्ट सिटीसँग सँगै काम अघि बढिरहेको बताउनुभयो ।

उहाँले भक्तपुर नेपालकै उत्कृष्ट स्वास्थ्य क्षेत्रको स्थलको रुपमा विकास भइरहेको बताउँदै आगामी दिनमा भक्तपुरले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने दावि गर्नुभयो । भक्तपुरमा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा मानव अंग प्रत्यारोपण, टिवी अस्पताल, नागरिक क्यान्सर अस्पताल, डा. इवामुरा, नेपाल कोरीया मैत्री अस्पताल जनताको सेवा रहेको बताउनुभयो ।







