काठमाडौँ, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा नेपालमा कोही भोकै बस्नु नपर्ने साथै भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘‘अब नेपालमा कोही भोकै बस्नु पर्दैन, भोकले मर्नुपर्दैन, तराईमा शीतलहरबाट जोगाउन न्यानोका लागि आवश्यक सामग्री पठाएका छौँ, अर्को वर्षसम्म निराक्षरता उन्मूलन गर्ने अभियानका साथ लागेका छौँ, त्यसैले अब सरकारले नयाँ बाटो समातेको छ ।”
जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ । “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन् ।”
प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने बताउनुभयो ।
स्वाधीन राष्ट्र नेपाललाई विगतमा भड्काउन र विभाजन गर्न विभिन्न चलखेल भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियहित, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा छिमेकीसँगको सम्बन्धलाई सौहार्दपूर्ण बनाइने बताउनुभयो ।






