पाँचथर, २५ पौष । संघियताको कार्यान्वयनसँगै पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।
स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने भएको छ ।
सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो ।
स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ ।
फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ ।






