एजेन्सी, ३० कार्तिक । बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले प्रहरीका अवरोध तोड्नुका साथै विभिन्न सार्वजनिक संरचना, स्मारक र प्रहरीका सवारीसाधनमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध पारेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ः४५ बजेसम्म गोपालगञ्जका विभिन्न सडकमा प्रदर्शन भएको थियो । जिल्लाका विभिन्न युनियन तथा बस्तीबाट आएका अवामी लिग, युवा लिग र छात्र लिगका कार्यकर्ताले जुलुस निकाल्दै हसिना र पार्टीको समर्थनमा नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरू राष्ट्रिय झण्डाका साथै लाठी, खुकुरी, भाला, बन्चरो र बाँसका हतियार बोकेर सडकमा उत्रिएका थिए । प्रदर्शनमा महिला कार्यकर्ताको पनि उल्लेख्य सहभागिता थियो ।
जुलुस लन्च घाट, वुमेन्स कलेज र शिल्पकला एकेडेमी हुँदै पुरानो लन्च घाट पुल नजिक पुगेको थियो । त्यसपछि प्रदर्शनकारीले बैंकपारास्थित अवामी लिगको जिल्ला कार्यालयमा प्रवेश गरी लामो समयदेखि बन्द रहेको कार्यालय खोलेर उत्सव मनाएका थिए ।







