एजेन्सी, ३० कार्तिक । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारसिल्ड भूउपग्रहमा आधारित इन्टरनेट प्रणालीमाथि लगाइएको गतिको सीमा हटाउन अमेरिकासँग आग्रह गरेका छन् ।
गत अक्टोबरमा स्टारसिल्डको गति सीमित गरिएको थियो । युक्रेनको विरोधपछि उक्त प्रतिबन्ध हटाइएको भए पनि प्रणालीमा पुनः अवरोध देखिएको जेलेन्स्कीको भनाइ छ ।
रुसी आक्रमणबाट नागरिक तथा ऊर्जा पूर्वाधारमा भइरहेको क्षति देखाउने आठ स्थानका तस्बिर सार्वजनिक गर्दै जेलेन्स्कीले जाडोयाम सुरु हुनुअघि ऊर्जा पूर्वाधार र नागरिकको जीवन रक्षा गर्न यस प्रणालीको पूर्ण क्षमता आवश्यक रहेको बताएका छन् ।
उनले रक्षा र विदेश मन्त्रालयसहित सम्बन्धित निकायलाई अमेरिकाको सरकार र स्टारसिल्ड सञ्चालक एलन मस्कको कम्पनी स्पेसएक्ससँग नजिक रहेर काम गर्न निर्देशन दिएका छन् । प्रणालीको गति सीमित हुँदा रुसी आक्रमणलाई प्रतिकार गर्न कठिन भएको उनले बताए ।
जेलेन्स्कीका अनुसार प्रतिघण्टा १६१ किलोमिटरभन्दा बढी गतिमा उड्ने युक्रेनी इन्टरसेप्टर ड्रोनको अपरेटरसँगको सम्पर्क टुट्ने गरेको छ । यसले रुसी ड्रोन र मिसाइललाई रोक्ने युक्रेनको क्षमतामा असर पारेको छ ।
जेलेन्स्कीका अनुसार गत साता रुसले युक्रेनमा दुई हजार ३०० भन्दा बढी ड्रोन, एक हजार ५९० ग्लाइड बम तथा १५ वटा मिसाइल र क्रुज मिसाइल प्रहार गरेको थियो । उनले रुसी आक्रमणलाई क्रूर भन्दै त्यसको प्रतिकार गर्न कठिन भइरहेको बताएका छन् ।
स्टारसिल्डको गति सीमा निर्धारणमा अमेरिकी सरकार र स्पेसएक्सको भूमिकाबारे भने फरकफरक धारणा सार्वजनिक भएका छन् ।
यसैबीच, गत हप्ता अन्तमा बन्दरगाह सहर चोर्नोर्मोस्कमा भएको रुसी आक्रमणमा ६ जना घाइते भएका छन् भने ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ । डीटीईके ओडेसा इलेक्ट्रिक नेटवक्र्सको एक केन्द्रमा आक्रमण हुँदा करिब ४१ हजार ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका थिए ।
यस्तै, जापोरिझियामा भएको रुसी आक्रमणमा दुई वर्षीय बालकसहित ६ जना घाइते भएको युक्रेनी आपत्कालीन सेवाले जनाएको छ ।
उता, इस्टोनियाले आफ्नो एउटा ड्रोन कारखानामा आगजनीको प्रयासका पछाडि रुसको हात रहेको आरोप लगाएको छ । घटनामा मस्कोको संलग्नताको स्पष्ट प्रमाण फेला परेको दाबी गर्दै इस्टोनियाले रुससँगको सीमा बन्द गर्ने घोषणा गरेको छ । डीडब्ल्यू







