बारा, २९ कार्तिक । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने बताएका छन् ।
आइतबार सिमरामा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख अर्यालले देश लोकतान्त्रिक प्रणाली र कानूनी राज्यको अभ्यासमा रहेकाले काम गर्न बाधा पुर्याउने पुराना तथा खराब कानूनलाई संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने उल्लेख गरे । संसारका विभिन्न देश लामो समयको प्रयासपछि मात्रै विकसित भएको उदाहरण दिँदै उनले विकासमा केही ढिलाइ भए पनि हतारिन नहुने धारणा राखे ।
सभामुख अर्यालले भने, ‘हामीले देशको समृद्धि, सुशासन र विकासका लागि अबको ५०औँ वर्षसम्म संविधान संशोधन गर्न नपर्ने गरी दीर्घकालीन कानून निर्माणको आवश्यकता औँल्याएका छौँ । मधेसमा सबैभन्दा छिटो, सस्तो र सजिलो तरिकाले विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यहाँको शिक्षा, स्वास्थ्य, सडक र सामाजिक विकास पछि पर्नु चिन्ताको विषय हो।’
उनले विकासका लागि स्थानीय सरकार सबैभन्दा गम्भीर हुनुपर्ने बताउँदै जायज माग पूरा नभएसम्म प्रदेश र संघ सरकारसँग निरन्तर लबिङ गर्न सुझाव दिए ।







