काठमाडौँ, १९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१७, ठमेलमा बस्दै आएका भारतको बिहारका ३२ वर्षीय सोनुकुमार सिन्हालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएल २०२६ मा केही व्यक्तिहरूले अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ रुपैयाँबराबरको कारोबार गरेको खुल्न आएको छ । उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।







