काठमाडौँ, १९ कार्तिक । चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ ।
आज बिहान बसेको केन्द्रीय चलचित्र जाँच समितिको बैठकले आफ्नो निर्णयमा अडिग रहँदै सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई सिनेमाबारे ब्रिफिङ गरेको थियो ।
समितिको ब्रिफिङपछि सचिवले सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग छलफल गरेका थिए । “सञ्चारमन्त्रीले पनि सिनेमा प्रदर्शन गर्न दिने अथवा नदिने सम्पूर्ण अधिकार केन्द्रीय चलचित्र जाँच समितिलाई भएको र चलचित्रमा कुनै समस्या नरहेको अवस्थामा रोक्नु हुँदैन भन्ने पक्षमा उभिनुभयो,” सञ्चार मन्त्री र सञ्चार सचिवबीचको भेटमा भएको कुरा उदृत गर्दै स्रोतले भन्यो, “सर्जकले आफ्नो सिर्जना निर्वाध रूपमा प्रदर्शन गर्न पाउनुपर्ने पक्षमा मन्त्रीज्यू उभिनुभयो ।”
चलचित्र जाँच समिति सदस्य मनोज पण्डितले सञ्चार मन्त्रालयको अडान र निर्णय चलचित्रकर्मीको पक्षमा आएको र यो निकै महत्वपूर्ण भएको बताए । उनले आजको निर्णयले बाह्य पक्षको दबाब र प्रभावमा परेर चलचित्रकर्मी तथा सर्जकलाई पेल्ने काम अब सफल हुँदैन भन्ने सन्देश गएको बताए ।
“जाँच पास समिति आफैँमा सिनेमा प्रदर्शनको अनुमति दिने पक्षमा निर्णायक निकाय हो र यसलाई कसैले प्रभावमा पारेर निर्णय उल्ट्याउन सक्दैन भन्ने पनि म्यासेज गएको छ,” मनोज भन्छन् ।
‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।







