काठमाडौँ, १९ कार्तिक । प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ ।
भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि गहुँको मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् ।
गहुँको मूल्य बढेसँगै गहुँलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ । एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीका अनुसार उद्योगहरूसँग अहिले करिब एक महिनाका लागि पुग्ने गहुँ मौज्दात रहेकाले तत्काल समस्या भने छैन ।
भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँ बिक्रीका लागि खुला नगरेसम्म मूल्य नघट्ने बेगवानीले बताए ।
भारत सरकारले करिब दुई महिनाअघि अर्थात् २४ अगस्ट २०२६ देखि गहुँको कोटा हटाएकाले आयातमा भने समस्या नरहेको एसोसिएसनले जनाएको छ ।







