काठमाडौँ, १३ कार्तिक । काठमाडौँबाट चेक अनादर मुद्दामा एक महिला पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१५ बस्ने प्रविता भण्डारी सुवेदीलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको हो ।
भण्डारीलाई काठमाडौँमा पक्राउ गरेर शुक्रबार धुलिखेल लगिएको हो । प्रविता विरुद्ध २०७४ फागुन १५ मा काभ्रेपलान्चोक जिल्ला अदालतले २ वर्ष कैद र बिगो भराउने फैसला गरेको थियो । २० लाख नगद र ब्याज समेत भराउने ठहरी फैसला भए पनि कार्यान्वयन नभए पछि पीडित ज्ञानु श्रेष्ठले बिगो बापत कैद राख्न माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
पीडितको निवेदनको आधारमा २०८२ पुस ४ मा काभ्रे जिल्ला अदालतले पुरानो फैसला कार्यान्वयन गर्ने आदेश गरेको थियो । सो आदेशका आधारमा अदालतले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो ।







