काठमाडौँ, १३ कार्तिक । आज सेयर बजार परिसूचक नेप्से ५.४५ अंकले घटेको छ । यस दिन नेप्से ०.२० प्रतिशतले घटेर २६९०.१५ अंकमा आइपुगेको छ ।
सूचक घटे पनि लगानीकर्ताको उत्साह भने देखियो । लगानीकर्ताले आज पाँच महिनायताकै धेरै कारोबार गरेका हुन् ।
नेप्सेका अनुसार, गत वैशाख ३ गते लगानीकर्ताले ९ अर्ब १८ करोडको कारोबार गरेका थिए । शुक्रबार भने आठ अर्ब ८२ करोडको कारोबार गरेका हुन् । बिहीबार आठ अर्ब ४८ कारोडको सेयर कारोबार गरेका लगानीकर्ताले शुक्रबार सेयर खरिद बिक्रीलाई बढाएका हुन् ।
यो दिन नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये १६९ वटाको मूल्य घट्दा १०२ वटाको बढेको छ । आठ कम्पनीको मूल्य स्थिर रह्यो ।
सर्वाधिक बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४.०८ प्रतिशतले घटेको हो ।







