सरकारलाई आफ्नो पूरा अवधि काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ, १० कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका हुन् ।

उनले विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसको दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै फेरि पनि त्यही प्रवृत्ति दोहोर्‍याउनु देशलाई अनिश्चिततातर्फ धकेल्नु भएको बताएका छन् ।

उनले लेखेका छन्, “प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्वनापूर्ण र चिन्ताजनक छ। उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूवीच निरन्तर प्रतिष्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना-प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो। परन्तु निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने कुरा, जुन देशले विगतमा पटकपटक भोग्यो र त्यसको दुष्परिणाम देखिसक्यो, अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भूमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ? अतः देश र जनताप्रति जिम्मेवार सबै नागरिक गम्भीर बनौं! सरकार र सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गरौं! विशेषतः विपत्तिमा परेका, ऐतिहासिक बञ्चितीकरणमा परेका, निर्धानिमुखा जनताको आवाजले सत्तामा रहनेहरूको कान घोचीरहौं। सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गरौं, हटाऊँ! परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ! काम नगरे वा विगारे अर्को चुनावबाट विदा गरौं!”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित