एजेन्सी, १० कार्तिक । रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढी ड्रोन खसालिएका थिए ।
गुसेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणमा दुई जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिएका हुन्। उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। ड्रोनका अवशेष रेलमा खस्दा उपनगरीय क्षेत्रमा यात्रा गरिरहेका केही यात्रु घाइते भएका थिए । मृतकहरू कहाँ मारिएका थिए भन्नेबारे भने उनले खुलाएका छैनन्।
आक्रमणका कारण सहरको मध्य भागमा रहेको एउटा व्यापारिक केन्द्र र आवासीय भवनमा आगलागी भएको गभर्नरले बताए। औद्योगिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको भए पनि त्यसको विस्तृत विवरण दिइएको छैन ।







