काठमाडौँ, १० कार्तिक । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ ।
गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।
बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने डाँडाखर्क र रिठाखर्कका मुहानबाट बेनीमा पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त भएको छ । बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको छ ।







