काठमाडौँ, २८ असोज । आज सेयर बजार परिसूचक नेप्से २१.३२ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन ४.१२ अंक बढेको नेप्से आजको वृद्धिपछि २६२१ अंकमा कायम भएको छ । योसहित लगातार पाँचौं दिन सेयर बजार बढेको हो ।
आजको बजार वृद्धिका लागि बैंकिङ समूहकै योगदान बढी रह्यो । बजारको सबैभन्दा ठूलो यो समूह सबैभन्दा धेरै १. ४५ प्रतिशत बढ्यो । बजारको कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा २५.४४ प्रतिशत छ । बैंकिङ समूहको उच्च वृद्धिले समग्र नेप्से परिसूचकमा आज राम्रो वृद्धि देखियो । बैंकिङ समूहको सूचक चैत १० यताकै उच्च विन्दु १५६५ अंकमा पुगेको छ ।
आज बैंकिङसँगै सबै समूहगत सूचक बढेका छन् । विकास बैंक १.१९, फाइनान्स ०.०४, जलविद्युत् ०.२९, होटल तथा पर्यटन ०.०४, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा १.२०, अन्य ०.६३ तथा व्यापार ०.८० प्रतिशत बढे ।
उपकार लघुवित्तको मूल्य ४.९५ प्रतिशत बढ्यो । ग्रिन भेन्चर्सको ४.२०, नेपाल वेयरहाउजिङको ३.८६, ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५७, टक्सार पिखुवाखोलाको ३.१७, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत मूल्य बढ्यो ।








